(यो आर्टिकल यसअघि अंग्रेजी भाषाको डिजिटल अनलाइन ‘द सिटी’ मा अप्रिल १४ तारिखका दिन प्रकाशित भएको थियो)
कृष्टिन चुन, न्यूयोर्क
गोमाले म्यानह्याटन शहरको एक नेल्स सलनमा काम गर्न थालेको झण्डै दुई दशक भयो । उनी मिड-टाउन म्यानह्याटनमा काम गर्न आफ्नो एल्महर्ष्टस्थित अपार्टमेन्टबाट हरेक दिन जसो गइरहेकी थिइन् भने उनको श्रीमान उबर चलाउँछन् ।
अहिले कारोना भाइरसका कारण दुबै जनाको काम छैन र भएको संचित रकम बिस्तारै सकिरहेको छ । गोमा, जो आफ्नो थर खुलाउन चाहँदिनन्, उनी ‘क्यास’मा काम गर्थिन् । त्यही भएर अहिले उनले बेरोजगारी भत्ताको फर्म भर्न पाउँदिनन् । त्यसमाथि संघीय सरकारबाट दिइने रकम पाउन पनि उनी योग्य छैनन् ।
‘मलाई लाग्छ सरकारले हाम्रो कामलाई पनि कदर गर्नुपर्छ, अझ यतिबेला झन्, किनभने यस महामारीले सबैलाई असर गरिरहेको छ’, उनले अनुवादकको सहयोगमा भनिन् ।
‘यतिखेर केहीलाई सहयोग दिने र केहीलाई नदिने गर्न मिल्दैन । यतिखेर सबैले समान सहयोगको अपेक्षा गरेका छन्’ उनले थपिन् । न्युयोर्क शहरमा काम गरिरहेका धेरै सामाजिक समुहहरुले संघीय सरकारबाट पाएको रकम त्यस्ता व्यक्तिहरुलाई सहयोग गर्न आग्रह गरिरहेका छन्, जो सरकारी सहयोग पाउनबाट कानूनी रुपमा वञ्चित छन् ।
‘यही बेला हो हामी अग्रसर भएर ती न्युयोर्कवासीलाई सहयोग गर्ने जो यस्ता सहयोगबाट वञ्चित छन्’ स्ट्रिट भेन्डर प्राजेक्टकी डेपुटी डिरेक्टर करिना कोफमान गुटेरिजले भनिन् ।
राहत प्याकेजबाट छुटेकाहरु:
संघीय सरकारले भर्खरै ल्याएको २ ट्रिलियन डलरको राहत प्याकेजले सोसियल सेक्युरिटी भएका ती व्यक्तिहरु जसले वार्षिक ७५ हजार डलरभन्दा कम कमाउँछन्, उनीहरुलाई एक पटकको लागि १२०० डलर दिंदै छ । त्यस्तै, वार्षिक ९९ हजार डलरसम्म कमाउनेले पनि केही रकम पाउँदैछन् ।
उक्त परिवारमा रहेका १७ वर्षमुनिका प्रत्येक बच्चाको भाग ५०० डलर भने छुट्याइएको छ । ट्रेजरी सेक्रेटरी स्टिभन मनुसिनका अनुसार जसले ट्याक्स फाइल गर्दा बैंकको जानकारी दिएका छन्, उनीहको खातामा पहिलो रकम अप्रिल १७ तारिखतिर आउँदैछ । सन् २०१८ वा २०१९ मा ट्याक्स फाइल गरेकाहरुले अरु केही गर्नु पर्दैन । आइ. आर. एस. ले अन्यका लागि भने अनलाईन पोर्टल बनाएको छ ।
यता १०औं लाख व्यक्तिहरु जसको आफ्नो बैंक खाता छैन, कानूनी रुपमा अनडकुमेन्टेड छन् र अरुमाथि डिपेन्डेन्ट छन्, उनीहरु यो सहयोग पाउन योग्य हुंदैनन् । न्यू अमेरिकन एकोनोमिले सन् २०१८ मा गरेका रिसर्च अनुसार लगभग १ करोड आप्रवासीहरु ‘अनडकुमेन्टेड’ छन् ।
‘आप्रवासीहरु जो संघीय सरकार र राज्य सरकार दुबैलाई कर तिर्छन् तर उनीहरुसंग सोसियल सेक्युरिटी कार्ड छैन भने उनीहरु राहत प्याकेज पाउन हकदार हुंदैनन्,’ न्यूयोर्क इमिग्रेशन कोलिसनका उपाध्यक्ष अनु जोशीले बताइन् ।
द डेली न्युजका अनुसार कम्तीमा १ लाख १२ हजार न्युयोर्कवासीसंग व्यक्तिगत कर नम्बर छ तर सोसल सेक्युरिटी छैन । ‘अनडकुमेन्टेड आप्रवासीहरु यतिखेर सबैभन्दा बढी प्रभावित छन् र उनीहरु आफ्नो ज्यानलाई जोखिममा पारेर काम गरिरहका छन् ताकि हामी सुरक्षित रहौं,’ जोशीले बताइन् । ‘उनीहरुलाई जानीजानी राहत प्याकेजबाट वञ्चित गराइएको हो । यसको अर्थ कि घरमा बस वा बाहिर गएर काम गरेर आफ्नो परिवारलाई पाल भन्न खाजिएको हो,’ जोशीले बताइन् ।
सामाजिक समुहहरु जस्तै मेक द रोड न्युयोर्क, द स्ट्रिट भेन्डर प्रोजेक्ट, अनलोकल , न्यूयोर्क नेल सलन वर्कर्स संघ लगायतले मानिसहरुलाई डोनेशन गर्न प्रोत्साहन गरिरहेका छन् । ‘यसरी पैसा उठाएर सहयोग गर्नु ती प्रभावितहरुको लागि अस्थायी रुपमै भएपनि एकदमै महत्वपूर्ण काम होे,’ न्यूयोर्क नेल सलन वर्कस संघका अर्गनाइजिङ डिरेक्टर लुइस गोमेजले बताए ।
ती समुहहरुले यसको स्थायी समाधानका लागि लडिरहँदा ती प्रभावितहरुका लागि यस्ता सहयोग गर्न अघि बढ्नु एकदमै सराहनीय कदम भएका गोमेजले ठम्याए ।
ऋणको चिन्ता :
इस्ट हार्लममा चुरोज र आइसक्रिम बेच्ने मेक्सिकन मुलकी ५० वर्षीया फ्रान्सिस्काले १ महिनादेखि काम गर्न पाएकी छैनन् । उनलाई अर्को महिनाको घरभाडा कसरी तिर्ने भन्ने चिन्ता छ । उनकी कलेज पढ्ने १९ वर्षिया छोरी र उनले फुड बैंकबाट प्राप्त गरेका खाना खाएर बांचिरहेका छन् । आफुसंग भएका चामल र गेडागुडी खटाइ–खटाइ खाइरहेका छन् । ‘मलाई चिन्ता छ यो कोराना भाइरसको असर सिद्धिएपछि म ऋणमा चुर्लुम्म डुबेको हुनेछु,’ स्पेनिस भाषामा उनले बताइन् । ‘हामी जस्तालाई सरकारले सहयोग नगरेको देखेर एकदमै नरमाइलो लागि रहेको छ । यो अन्याय नै हो,’ उनले भनिन् । ‘यदि त्यो चेक पाएको भए ग्रोसरी र अन्य बिल तिर्न पुग्थ्यो जुन अहिलेको प्रमुख आवश्यक्ता हो,’ उनले थपिन् ।
स्टेटन आइल्याण्डमा ६ बेरोजगार साथीहरुसंग बस्ने २७ वर्षीया बेरेनिश एगुले केही सहयोग पाए आफुले खाना किन्ने बताइन् । मेक्सिकोबाट आएकी बेरेनिस पनि उनको इमिग्रेसन स्ट्याटसका कारण राहत पाउनबाट वञ्चित छिन् । ‘मलाई थाहा छैन विना काम हामी कतिन्जेल टिक्न सक्छौं भनेर,’ स्पेनिस भाषामा बेरेनिशले बताइन् । ‘हामी पनि मान्छे हौं नि,’ उनले भनिन् । ‘हामी यहाँको नागरिक नभएपनि हामीले कामदारले पाउने अधिकार त पाउनुपर्छ,’ उनले भनिन् ।
यो आर्टिकल तयार पार्न स्ट्रिट भेन्डर प्रोजेक्टकी एमेलि रोजन्जिग, वर्कस युनाइटेडकी लियन टोरी मर्फी र अधिकारकी प्रार्थना गुरुङले अनुवादमा सहयोग गरेका थिए ।
(यो रिपोर्ट ‘द सिटी डट न्युयोर्क’ को अनुरोधमा नेपालीमा उल्था गरी प्रकाशित गरिएको हो)