सामाजिक संजालमा आतंक फैलाउने गरी पोष्ट राख्ने ७ जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत आतंक फैलाउनेविरुद्ध प्रहरीले कारबाही सुरु गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाजिक सञ्जालमार्फत आतंक सिर्जना गरेर समाजमा अशान्ति फैलाउने, डर र त्रासको वातावरण सिर्जना गर्नेविरुद्ध कारबाही थालेको हो । अपराध अनुसन्धान कार्यालयको कमाण्ड सम्हाले लगत्तै एसएसपी रमेश बस्नेतले सामाजमा आतंका सिर्जना गर्ने र गुण्डागर्दीमा संलग्नहरूविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएका थिए । सोही नीति अनुसार कारबाही प्रक्रिया सुरु गरिएको हो ।

बुधबार मात्रै अपराध अनुसन्धान कार्यालयले राजधानीका विभिन्न ठाउँहरूबाट ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोपाल मोक्तान, गुणबहादुर गुरुङ, रोमन मगर, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु र रोशन तामाङ छन् । यो समूहले टिकटकमा ‘ग्याङ स्टार’ प्रदर्शन गरेको, तरबार प्रदर्शन गर्ने गरेको, हतियार र बडी प्रदर्शन गर्दै समाजमा अशान्ति मच्चाएको आरोप छ । पक्राउ परकोहरूविरुद्ध प्रहरीले सार्वजनिक शान्तिमा खलल पुर्‍याएको आरोपमा अनुसन्धान गर्ने बताएको छ । एसएसपी बस्नेतका अनुसार समाजमा अशान्ति मच्चाउनेविरुद्ध विशेष अपरेशन नै बनाएर काम सुरु गरिएको छ ।

‘एसएसपी बस्नेतको निर्देशनपछि अपराध अनुसन्धान कार्यालयको गुण्डागर्दी हेर्ने ४ नम्बर पिलरले उनीहरूलाई पक्राउ गरेको हो । ४ नम्बर पिलरका डीएसपी अनिल घिमिरे कमाण्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ परेकाहरूले १०–१५ जनाको समूह बनाई खुकुरी, तरबारले केक काट्ने, मसल प्रदर्शन गर्ने र त्यसको भिडियो बनाई टिकटकमा पोस्ट गर्ने गरेका थिए । यस्ता पोस्टले सामाज अशान्ति फैलने भन्दै प्रहरीले कारबाही सुरु गरेको जनाएको छ ।