सामान्य बन्दै अफगानिस्तानको जनजिवन

Photo : Jim Huylebroek/The New York Times

काबुल । २० वर्षको संघर्षपछि तालिवानले सत्ता कब्जा गरेसँगै अफगास्तिानमा देखिएको अनिश्चितता अब क्रमशः सहज बन्दै गएको छ । अफगानिस्तानको शक्तिमा आएको तालिबानले देशैभरि आफ्नो पकड बनाएको छ । बीबीसीका अनुसार केही शहरमा तालिवान विरोधी प्रदर्शन भएका थिए । ती प्रदर्शनमा गोली चलाएको खबर आएको छ ।

तर, आम जनजीवन भने सामान्य बन्दै गएको छ । पूर्वी सहर जलालाबादमा हिंस्रक प्रदर्शन भएको र त्यसमा तालिवानले दमन गरेको बीबीसीले उल्लेख गरेको छ । काबुलमा भने तालिबानी हतियारधारी लडाकू गस्तीमा निस्कने गरेका छन् । सडकमा महिलाको सङ्ख्या कम देखिएको छ । तर, दैनिक जनजीवनका अन्य गतिविधि सामान्य बन्दै गएका छन् ।

काबुल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर अस्तव्यस्त अवस्था भने कायम छ। तालिबानका सदस्यहरूले विमानस्थल परिसर पस्न खोज्ने अफगानीलाई रोकिरहेका छन्। यात्राका लागि आवश्यक कागजात भएका व्यक्तिलाई भने जान दिइन्छ । अहिले अमेरिकाले खटाएको विशेष फौजले विमानस्थल कब्जा गरेको छ । तालिबानले गत आइतवार काबुल नियन्त्रणमा लिएको हो । सो मुलुकबाट अमेरिकी सेना फिर्ता हुन थालेको ४५ दिन भित्रै तालिबानले पकड जमाएको हो ।