धनुषा । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिकामा पर्ने देवपुरा रुपैठामा निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरमा शनिबार दिउँसोदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो । जनकपुर उपमहानगरमा पर्ने देवपुरा रुपैठामा सम्प्रदायिक सदभाव खल्बलिने गतिविधि बढेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले शनिबार दिउँसो २ बजेदेखि आइतबार राति १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले रुपैठामा साम्प्रदायिक सदभावमा खलल पुग्नेगरी नारा, जुलुस र हुलहुज्जत गरिरहेको बुझिएकोले शान्ति शुरक्षा अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको जानकारी गराएका छन् । निषेधाज्ञा अवधिभर स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ (क) बमोजिम कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, घेराउ, र सभाजस्ता क्रियाकपाल गर्न नपाउने प्रमुख जिल्ला अधिकारी बास्तोलाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आदेश उल्लंघन गर्ने जोसुकैलाई प्रहरीले कानुन बमोजिम कारबाही गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । रुपैठामा छठकै दिनदेखि तनाव शुरु भएको थियो । एक समूहले छठ पर्व मनाउन रोक लगाएपछि दुई पक्षबीच विवाद हुँदै आएको छ ।