काठमाडौं । सरकारले आगामी माघ ७ गतेबाट सार्वजनिक सेवामा कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य गरेको छ । यस्तो निर्णय लागु हुने दिन नजिकिँदै जाँदा नेपालमा खोप केन्द्रमा मानिसहरुको अत्यधिक भिड बढेको छ । खोप केन्द्रमा थामिनसक्नु भिड बढेपछि कोरोनाको जोखिम समेत अझ बढेको हो । सरकारले यसअघि प्राथमिकतामा परेका बाहेकलाई खोप लगाउन प्रोत्साहन गर्न सकेको थिएन । तर, सार्वजनिक सेवामा खोप कार्य अनिवार्य गरिएपछि भने मानिसहरु खोप लगाउन बाध्य भएका हुन् ।
७ माघबाट सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा कोभिडविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको छ । बिहीबार मात्र काठमाडौँमा २५ हजारभन्दा बढीले खोप लगाएको तथ्यांक छ। यसमा फाइजर लगाएका बालबालिकाको सङ्ख्या जोडिएको छैन । काठमाडौँमा फाइजर लगाउने बालबालिकाको सङ्ख्या दैनिक २४ हजारभन्दा माथि रहेको अनुमान छ । अहिले सरकारी मात्र नभएर निजी अस्पतालबाट पनि खोप लगाउन पाइन्छ । खोप निशुल्क दिइएको हो । काठमाडौँमा मात्र १८ केन्द्रबाट नियमित खोप वितरण भइरहेको छ ।