सालीसँगको प्रेमपछि श्रीमतीको हत्या

पोखरा । आफन्तबाटै ज्यान लिने जघन्य अपराध पुनः पोखरामा घटेको छ । पोखरा रामबजारका रमेश नेपालीले आफ्नै श्रीमतीको हत्या गरेको तथ्य प्रहरीले फेला परेको छ ।

श्रीमती लक्ष्मी परियारको हत्या गरेको उनले स्वीकार गरिसकेका छन् । उनले लक्ष्मीकी मामाकी छोरी (रमेशकी साली पर्ने) अनु परियारसँगको प्रेमपछि श्रीमतीको हत्या गरेको डरलाग्दो रहस्यसमेत प्रहरीले फेला पारेको छ ।

लक्ष्मी १ असारदेखि वेपत्ता थिइन् । रमेशले डेढ लाख रुपैयाँसहित श्रीमती गायब भएको भन्दै प्रहरीमा निवेदन दिएका थिए ।

प्रहरीले अनुसन्धानका क्रममा श्रीमानतर्फ नै शंका बढाएपछि तथ्यको नजिक पुगेको हो । किनकी उनको डेराबाट प्रहरीले श्रीमतीको मोवाइल, सिक्रिजस्ता घरायसी प्रयोजनका वस्तु फेला पारेको थियो ।

प्रहरीले रमेशलाई पक्राउ गरी हिरासतमा लिएर केरकोर गरेपछि भने उनले स्वयमःले श्रीमतीको हत्या गरी लास फालेको बयान दिएका हुन् ।

पोखरा, २२ स्थित कर्कले जंगलमा शव कुहिसकेको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । श्रीमान र बहिनीको झांगिदै गरेको प्रेमका सम्बन्धमा लक्ष्मीले पत्ता पाइसकेकी थिइन् ।

उनले मामा माइजुलाई समेत यसबारे सचेत गराएको प्रहरीले उल्लेख गरेको छ । प्रेममा पागल बनेका यी दुईले भने लक्ष्मीको हत्या गरे आफूहरुको बाटो खुल्ने सपना देखे र जघन्य हत्या गरेको प्रहरीले बुधबार जानकारी दिएको छ ।

रमेशलाई श्रीमतीको हत्या गर्न अनुले उक्साएको प्रहरीको भनाई छ । त्यसपछि पोखरामै मोबाइल पसल सञ्चालन र्ने सञ्जय शर्मासँग मिलेर हत्याको योजना बनाएका थिए ।

त्यसपछि भारतबाट पैसामा मान्छे मार्ने बोलाएर उसकै जिम्मामा त्यो काम सुम्पने र त्यसवापत पैसा दिने योजना बन्यो ।

प्रहरीका अनुसार ‘सर्लाही ईश्वरपुर ३ तिनघरिया स्थायी घर भई पोखरा ९ मा बस्ने चित्तरञ्जन साहलाई १० लाख दिएर भारतबाट मान्छे झिकाउने जिम्मा दिइएको थियो ।

शाहले भारतबाट पैसा लिएर मान्छे मार्ने पेशामा संलग्न ३ जना व्यक्तिलाई पोखरा झिकाएका थिए । त्यसपछि ३० जेठमा कर्कले जंगलमा ती हत्यारालाई लगिसकेपछि जंगलमा जडिबुटी खोज्ने बाहनामा श्रीमतीलाई लगेर हत्या गराएको रहस्यको पर्दाफास प्रहरीले गरेको छ ।

उनकी श्रीमतीको घाटी रेटेर हत्या भएको प्रहरीले बताएको छ ।

प्रहरीले लक्ष्मीको हत्यामा संलग्न चार जना अपराधीलाई पक्रेको छ ।

पक्राउ पर्नेमा मुख्य योजनाकार रमेश नेपाली, रमेशकी साली १९ वर्षीया अनु परियार, सर्लाही ईश्वरपुर ३ घर भई हाल पोखरा ८ पृथ्वीचोक बस्ने २६ वर्षीय चित्तरञ्जन कुमार साह, भोजपुर नपा ५ बैंकरोड घर भई हाल पोखरा ९ महेन्द्रपुल बस्ने ३२ वर्षीय सञ्जय शर्मा रहेका छन् ।

भाडामा मान्छे मार्ने भारतीयहरु भने फरार रहेको प्रहरीले उल्लेख गरेको छ ।