काठमाडौं । काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित जन्मभूमि होटलको बरण्डामा एक दम्पत्ति मृत भेटिएका छन् । दम्पत्तिको शव पोष्टमार्टमका लागि त्रिविस्थित शिक्षण अस्पताल पठाइएको छ । प्रहरी वृत्त गौशालाका अनुसार घटनास्थल मुचुल्का गरेरे आइतबार दिउँसो शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको छ । मृत भेटिएका दम्पत्तिमा सुनसरीको दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती हुन् । उनीहरुको शव मृतक रमेशका बाबुआमा आइपुगेपछि उठाएर पोष्टमार्टमका लागि पठाइएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । पोष्टमार्टम रिपोर्ट भने आउन बाँकी छ । सुनसरीबाट काठमाडौं आइपुगेका बाबुआमालाई समेत उनीहरू नेपाल आएको भन्ने जानकारी नरहेको अनुसन्धानबाट खुलेको छ । छोरा–बुहारीले आफूहरू नेपाल आउनका लागेको भन्ने केही जानकारी नगराएको उनीहरूले प्रहरीसमक्ष बताएका छन् ।
मृतक दम्पतीले २ वर्षअघि सन् २०२२ मा क्यानडा जाँदा २ वर्षीय छोरा बाबुआमाको साथमा सुनसरीमै छाडेर गएको खुलेको स्थानीय सञ्चारमाध्यमले लेखेका छन् । सुनसरीबाट मृतकका बाबुआमा आउँदा उनीहरूले नाती समेत काठमाडौं लिएर आएका थिए । मृतक दम्पतीका ती छोरा अहिले ४ वर्षका छन् । घटनास्थलमा कुनै सुसाइड नोट समेत फेला नपरेकाले घटनाको यकिन कारण भने खुल्न सकेको छैन ।