काठमाडौं । केन्द्रीय प्रशासनिक निकाय सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमा गुणस्तरहीन खाद्यवस्तु बिक्री वितरण भएको भेटिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले सिंहदरबारमा रहेको सबभन्दा ठूलो सेन्ट्रल क्यान्टिनमा बासी खाना र म्याद नाघेका दूध र मसला प्रयोग गरेको भेटाएको छ । क्यान्टिनलाई तीन लाख जरिवाना गरिएको छ । त्यहाँ मम बनाउने किमामा समेत ढुँसी परेको भेटिएको छ ।
विभागको आकस्मिक अनुगमन टोलीले उक्त क्यान्टिनको अनुगमनका क्रममा मसला, बेसार, धुलो दूधका प्याकेट म्याद नाघेको भेटाएको हो । विभागका अनुसार उक्त क्यान्टिन सहरी विकास मन्त्रालयको टेन्डरबाट भाडामा लिएर सञ्चालन गरिएको हो । उक्त क्यान्टिनमा दुर्गन्धित मासु र तरकारीसमेत बिक्रीका लागि फ्रिजिङ गरेर भण्डार गरेको अवस्थामा भेटिएको छ । विभागका अनुसार अनुगमन टोलीले म्याद नाघेका दूध, मसला, बेसार र बासी वा दुर्गन्धित खानेकुरा नष्ट गरेको छ ।