काठमाडौं । सरकारले बाढी र पहिरोबाट ठूलो मानवीय क्षति भएका सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यी दुई जिल्ला असोज मसान्तसम्म विपद संकटग्रस्त क्षेत्र घोषित भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराए । उनका अनुसार विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक तथा मनाङ जिल्लालाई २०७८ असोज मसान्तसम्म लागु हुनेगरी विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय सरकारले गरेको हो ।
यो वर्ष बाढी र पहिरोले यी दुई जिल्ला सबैभन्दा बढी प्रभावित भए । सिन्धुपाल्चोकमा २६ परिवारको घर पूर्णरुपमा बगेको छ । ५६९ जना विस्थापित भएका छन् । मनाङमा बाढीमा ५३ घर पूर्ण र २६ मा आंशिक क्षति पुगेको छ । यो वर्ष जारी मनसुनका कारण अहिलेसम्म ६३ जनाको मृत्यु भएको छ । ३५ जना अझै बेपत्ता छन् ।