१२ साउन, काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै हराएका छन् । रहस्यमयी तरिकाबाट हराएका उनीहरुका आज दिनभर खोजतलास गरिएको छ । तर, यो समाचार तयार पार्दासम्म फेला पार्न नसकिएको प्रहरीले जानकारी दिएको छ । गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि हराएको भन्ने सूचना स्थानीयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा गरेका थिए ।
सोही सूचनाको आधारमा प्रहरी टोली हायुको घरमा पुगेर अनुसन्धान अघि बढाएको थियो । हायुको घरमा सामान्य क्षति देखिएको छ । हायु परिवारले पालेको कुखुरा, बाख्रा, भैंसी अलपत्र अवस्थामा रहेको पाइएको छ । तर हायुको परिवारका कोही सदस्य पनि घरमा छैनन् । स्थानीय जनप्रतिनिधि लगायत गाउँलेसँग उनीहरूको बारेमा बुझेसँगै आज उनीहरुको खोजि गरिएको थियो । हायु सिमान्तकृत समुदायमा पर्छ । उनीहरुले केही दिन अगाडी मात्र सरकारले दिने सामाजिक भत्तावापत एक वर्षको ८ लाख भन्दा बढी रकम बुझेको समेत खुलेको छ ।
यी हुन वेपत्ताहरु
१. उर्मिला हायू -आमा-५२ वर्ष
२. कमला हायू -छोरी-२७ वर्ष
३. कोमल माया हायू -बुहारी-२३ वर्ष
४. उषा हायू -छोरी-२२ वर्ष
५- सुजता हायू -छोरी-२२ वर्ष
६. अस्मिता हायू -छोरी-१८ वर्ष-
७. शान्ता हायू -छोरी-१२ वर्ष
८. राजु हायू -छोरा-२९ वर्ष
९. हिमाल हायू -छोरा-२४ वर्ष
१०. लालबहादुर हायू -छोरा-१६ वर्ष
११. बेगबहादुर हायू – छोरा-१४ वर्ष
१२. लक्की हायू -छोरा-११ वर्ष
१३. सुवर्ण हायू -छोरा-१२ वर्ष
१४. ओमकुमारी हायू -छोरी-१० वर्ष
१५. अर्जुन हायू -नाती-१ वर्ष
१६. रियासा हायू -नातिनी-४ वर्ष