सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–१४ चन्दनपुरमा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । एक प्रहरी जवानसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सिन्धुलीको भिमानबाट दुधौली नगरपालिकातर्फ जाँदैगरेको प्रदेश न २–०१–००१ प २१६३ को मोटरसाइकल मदन भण्डारी राजमार्ग अन्तरगत कमलामाई–१४ चन्दनपुरमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा सर्लाहीमा कार्यरत प्रहरीजवान दुधौली नगरपालिका–४ का यम कुमार दनुवारको मृत्यु भएको हो । मोटरसाइकल उनले चलाएका थिए । उनको पछाडी बसेका सोही ठाउँका १३ वर्षीया आशिष कुमार र अन्दाजी ९ वर्षीय अदित कुमार दनुवारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी गराएको छ ।
यम कुमार र आशिषको घटनास्थलमै ज्यान गएको र अदितको सिन्धुली अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मोटरसाइकल ढोली खोला नजिक सडकको ग्राभेलमा चिप्लिएर पुलको रेलिङमा ठोक्किएको बताइएको छ ।