काठमाडौं । अफ्रिकी मुलुक सियरालिओनमा इन्धन बोकेको ट्याङ्कर अर्को लरीसँग ठोक्किएर भएको दुर्घटनामा कम्तिमा ८४ जनाको मृत्यु भएको छ । घटना सियरालिओनको राजधानी फ्रीटाउनमा भएको हो । बीबीसीका अनुसार आगलागी हुनु अघि इन्धन पोखिएको थियो। त्यसपछि लागेको आगोले नजिक रहेका मानिसहरू र सवारी साधन जलेको बताइएको छ ।
स्थानीय मिडियाले प्रकाशित गरेका तस्बिरमा ट्याङ्कर वरिपरि नराम्ररी डढेका शवहरू देखिन्छ। राष्ट्रपति जुलियस मादा बायोले दुखान्तकारी आगलागी र मानिसको ज्यान गएका कारण आफूलाई गहिरो दुख लागेको बताएको बीबीसीले लेखेको छ । आफ्ना सवारी साधनमा फसेका कारण कैयौँले ज्यान गुमाउन पुगेका थिए ।
राष्ट्रपतिले पीडित परिवारलाई आफूले सक्दो सहयोग गर्ने बताएका छन्। फ्रीटाउनका मेयर वाइभोन अकि सवेरले त्रासदीपूर्ण तस्बिर देखेको भन्दै १०० भन्दा बढीको ज्यान गएको बताएका छन् । गृहमा ९० भन्दा बढी शवहरू पुगेको र फ्रीटाउन वरिपरिका स्वास्थ्यकेन्द्रमा १०० जना जति मानिसको उपचार भइरहेको बताइएको छ। विस्फोट सहरको वेलिंगटन क्षेत्रको व्यस्त चोइथ्राम सुपर मार्केट बाहिरको एक चोकमा शुक्रवार करिब दश बजे भएको बताइएको छ।
एक रिपोर्टका अनुसार मानिसहरूले भरिएको बस पूर्ण रूपमा जलेको छ। जसका कारण घटनास्थल वरपरका पसलहरू समेत आगोको ज्वालाका कारण प्रभावित छन्। सियरा लिओनको राष्ट्रिय प्रकोप व्यवस्थापन संस्थाका प्रमुख ब्रिमा बुरेह सेसेले स्थानीय सञ्चार माध्यमसँग भयानक दुर्घटना भएको बताइन्। एक लाखभन्दा बढी मानिस बसोबास गर्ने यस बन्दरगाह सहरमा, पछिल्ला वर्षहरूमा निकै गम्भीर प्रकोपहरूको सामना गरेको छ।