सिरोहिया अस्पताल भर्ना

काठमाडौं । नागरिकता सम्बन्धी मुद्दामा हिरासतमा राखिएका कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि अस्पताल भर्ना भएको सञ्चारमाध्यमले जनाएका छन् । चार दिनदेखि प्रहरी हिरासतमा रहेका सिरोहियाको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि शुक्रबार साँझ जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएको हो ।

उनी डायबेटिज, उच्च रक्तचाप लगायतका समस्याबाट गुज्रिरहेको बताइएको छ । सिरोहियालाई टाउको दुख्ने, रिंगटा लाग्ने, छाती दुख्ने जस्ता समस्या आएपछि प्रशासनले प्रादेशिक अस्पतालमा भर्ना गरेको हो । प्रादेशिक अस्पतालमा न्युरोलोजी लगायतको परीक्षण गर्ने सुविधा उपलब्ध नभएपछि काव्या अस्पताल लगिएको छ ।

सिरोहियाको पछिल्लो अवस्था चिन्ताजनक पाएकाले परीक्षणहरु सुरु गरेको, तर रिपोर्ट प्राप्त गरिनसकेको त्यहाँस्थित डाक्टर एसके सिंहले बताएका छन् ।
मंगलबार कान्तिपुर अफिसबाट गिरफ्तार सिरोहियालाई प्रहरीले जनकपुर लगेको थियो ।

सिरोहिया शुक्रबार अपराह्नसम्म सामान्य अवस्थामा रहे पनि हिरासतमा स्वास्थ्य प्रतिकूलता भोगेका थिए । उनलाई मुटुको चालमा कठिनाई परेको र रिंगटा लागेको थाहा पाएपछि परिवारले तुरुन्त अस्पताल पठाउन आग्रह गरेका थिए । तर प्रशासनले ढिलासुस्ती गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।