झापा । झापाको पूर्वी नाका काँकडभिट्टास्थित सीमा नाकामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमण भएको छ । यहाँ तीन दिनअघि दुई जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएको थियो । त्यसपछि थप ४८ जना सशस्त्र प्रहरीको पिसीआर परीक्षण गर्न नमुना संकलन गरी धरान पठाइएको थियो। उनीहरुमध्ये १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमण पुष्टि भएका सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेकुवा राजश्व तथा भन्सार गस्ती सुरक्षा काँकडभिट्टामा कार्यरत प्रहरी हुन् । संक्रमण पुष्टि भएका सशस्त्र प्रहरी सीमा नाकासँगै बनाइएको क्वारेन्टाइनमा समेत खटिएका थिए। संक्रमित सशस्त्र प्रहरीलाई उपचारका लागि सुनसरीको गोठ गाउँ स्थित कोभिड अस्पतालमा पठाइएको छ ।
झापामा प्रहरीका १८ कर्मचारीसहित २५ जना कोरोना संक्रमित थप भएको हो । शुक्रबार १८ जना सशस्त्रसहित बाह्रदशी गाउँपालिकामा तीन, झापा गाउँपालिका तीन र बिर्तामोड नगरपालिकाका एक जनामा संक्रमित बिरामी भेटिएको जनाइएको छ ।