सुडानबाट विदेशी नागरिक फिर्ता हुन सुरु

काठमाडौं । अफ्रिकी देश सुडानमा द्वन्द्व चर्किएपछि विश्वका विभिन्न देशले आफ्ना नागरिकलाई त्यहाँबाट बाहिर निकाल्न थालेका छन् । अमेरिका र बेलायतले सुडानको राजधानी खार्तुमबाट आफ्ना कुटनीतिज्ञ र उनीहरुको परिवारलाई बाहिर निकालेको जनाएको छ । यस्तै, फ्रान्स, जर्मनी, इटली र स्पेनले पनि द्वन्द्वग्रस्त सुडानबाट आफ्ना नागरिकलाई स्वदेश ल्याउने व्यवस्था गरेको बताएका छन्। अमेरिकाले खार्तुममा रहेको अमेरिकी दूतावास बन्द भएको जनाएको छ ।

बेलायतका विदेशमन्त्री जेम्स क्लेभरलीले सुडानबाट बेलायतले आफ्ना दूतावासका कर्मचारीलाई बाहिर निकालेको र आफ्ना नागरिकको सुरक्षा बेलायत सरकारको उच्च प्राथमिकता रहेको बताएका छन् । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सुडानबाट बेलायती कुटनीतिज्ञ र उनीहरूका परिवारलाई बेलायती सेनाले ‘जटिल र द्रूत उद्धार’ पूरा गरेको बताउनुभएको छ । त्यसैगरी, जर्मनीले आफ्ना साझेदारहरूसँगको समन्वयमा सुडानबाट आफ्ना नागरिकलाई उद्धार गर्न सुरु गरेको जनाएको छ।

त्यस्तै, क्यानडाले पनि सुडानमा कुटनीतिक गतिविधि अस्थायी रूपमा स्थगन गर्ने घोषणा गरेको छ । भारतले पनि खार्तुममा रहेका आफ्ना नागरिकको उद्धार गर्न सबै तयारी पूरा भएको जनाएको छ । खार्तुममा सेना र अर्धसैनिक बलबीच भइरहेको द्वन्द्वका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ। सयौँको ज्यान गएको छ भने हजारौँ घाइते भएका बीबीसीले जनाएको छ।