काठमाडौं । दक्षिण सुडानमा विमान दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । प्रदेशका सूचना तथा सञ्चारमन्त्री गतवेच विपालका अनुसार राजधानी जुबाका लागि उडेको विमान बुधबार युनिटी राज्यको तेल क्षेत्र नजिकै खसेको थियो । ‘विमान विमानस्थलबाट ५०० मिटर टाढा दुर्घटनामा परेको हो ।
विमानमा २१ जना सवार थिए । जसमध्ये एक जना मात्रै बाँचेका छन्,’ गतवेच विपालले भने । ग्रेटर पायोनियर अपरेटिङ कम्पनी (जीपीओसी) ले चार्टर्ड गरेको र लाइट एयर सर्भिस एभिएसन कम्पनीले सञ्चालित उक्त विमान यस क्षेत्रमा नियमित उडानमा रहेको उनले बताए । उनले उक्त दुर्घटनाबाट राज्य सरकार गहिरो दुःखी भएको बताउँदै यसबारे छानबिन गरिने जानकारी दिए ।