सुदुरपश्चिमका मूख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

धनगढी । सुदुरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले आज संसदबाट विश्वासको मत लिँदैछन् । नेकपा माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा एमालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोहीकारण मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेश सभा बैठकमा विश्वासको मत लिने भएका हुन् । यहाँ एमालेका माधव नेपाल पक्षका सांसदले फ्लोर क्रस गर्ने सम्भावना छ ।

सो अवस्थामा भट्ट पुनः मूख्यमन्त्रीमा कायम रहने छन् । उक्त प्रस्तावको विरूद्ध मतदान गर्न नेकपा एमालेले ह्विप भने जारी गरेको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ह्वीप जारी गर्न पार्टी संसदीय दललाई निर्देशनसमेत दिएको छ। राससका अनुसार एमाले प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाश शाह र प्रमुख सचेतक दुर्गा विकलाई मुख्यमन्त्री भट्टले राखेको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप लगाउने निर्देशनसहित पत्र पठाएका छन्।

सुदूरपश्चिम प्रदेश सभामा ५२ सदस्य छन्। मुख्यमन्त्री भट्टले २७ मत ल्याएमा उनको कुर्सी जोगिने छ । प्रदेशसभामा नेकपा एमालेका २४, नेकपा माओवादीका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी जसपाका दुई सांसद छन् । एमालेका २४ मध्ये ९ जना मात्र प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा छन् ।