काठमाडौं । सुदूरपश्चिममका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको छ । अझै गठबन्धनभित्रका दलहरुबीच मत दिने विषयमा अन्तिम समझदारी भने भइसकेको छैन । संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको नेतृत्वमा सरकार गठन भएको छ । माघ २६ गते गठित सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक ब्यवस्था छ ।
विश्वासको मतका लागि २७ मत आवश्यक छ । गठबन्धनमा रहेका आठ दलमध्ये सुदूरपश्चिममा कांग्रेससँग १९, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । एक जना स्वतन्त्र सांसदको पनि सरकारलाई नै साथ छ । तर माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले विश्वासको मत दिनुअघि शनिबार साँझ मुख्यमन्त्रीलाई भेटेर ‘पावरसेयरिङ’ को विषय निर्क्योल हुनुपर्ने बताएका थिए । नागरिक उन्मुक्तिले दुई मन्त्रालय, २ राज्यमन्त्री र दुई संसदीय समितिमा सभापति माग गरेको छ ।