सुदूरपश्चिमबाट कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

सुदूरपश्चिम, ११ माघः राष्ट्रियसभा निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशको धनगढीमा आज सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपा (एमाले) की लिलाकुमारी भण्डारी विजयी भए । अन्य समूहतर्फ खाती र महिलातर्फ भण्डारी विजयी भएका हुन् । कांग्रेस उम्मेदवार खातीले तीन हजार ९६९ मतभार पाए । उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसीले एक हजार ८०५ मतभार प्राप्त गरे ।


महिलातर्फ विजयी एमालेकी भण्डारीले तीन हजार ९८४ मतभार पाइन् । उनकी निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले एक हजार ६७६ मतभार पाइन् । कुल २२४ मतदाता रहेकामा ४९ प्रदेशसभा सदस्य र १७१ पालिकाका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष गरी २२० मतदाताले मतदानमा भाग लिएका थिए ।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, प्रदेशसभा सदस्यद्वय नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा र राप्रपाकी खेमादेवी विष्ट, कैलालीको जोशीपुर गाउँपालिकाकी उपाध्यक्ष रेखा कठरिया मतदानमा अनुपस्थित रहे । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित दुई सदस्य पदको पदावधि आगामी फागुनमा सकिन लागेकाले यी दुई पदका लागि निर्वाचन भएको हो ।

त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभाका एक सदस्य निलम्बनमा परेका छन् । अर्का एक सदस्यले राजीनामा दिएका थिए । ८८ पालिका तहका प्रमुख, उपप्रमुख-अध्यक्ष, उपाध्यक्ष गरी १७६ मतदाता छन् । नेपाली कांग्रेस र नेकपा (एमाले)ले राष्ट्रिय सभा सदस्य चुनावमा गठबन्धन गरेको थिए ।