सुनसरीमा बस र ट्रक ठोक्किए, तीन जनाको मृत्यु

सुनसरी । सुनसरीमा ट्रक र बस ठोक्किंदा भएको दुर्घटनामा कम्तिमा तीन जनाको मृत्यु भएको छ । १३ जना घाइते भएको प्रहरीले जनाएको छ । शुक्रबार राति भोक्राहा नरसिंह नगरपालिका ३ र ६ को सीमा क्षेत्र खुनिया खोला पुलमा पूर्वतर्फ जाँदै गरेको ना५ख २९९६ नंम्बरको ट्रक र पश्चिमतर्फ आउँदै गरेको ना८ख ८४९३ नंम्बरको बस ठोक्किएका हुन् । दुर्घटनापछि दुवै सवारी साधनमा आगलागी भएको थियो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा बस चालक पाँचथरका सुरेन राई, बसमा सवार एक जना पुरुष र ट्रक चालक छन् । दुई जनाको सनाखत भइसकेको छैन । दुर्घटनामा बसका कन्डक्टर झापाका रबिन ढुङ्गेल, मोरङका बिक्रम कटवाल, बसमा सवार दोलखाका मिङमा शेर्पा, बाराका दिपक श्रेष्ठ, बसका सहचालक उदयपुरका दिलकुमार बिक, बसमा सवार महोतरीका राहुलकुमार मण्डल, काठमाडौंका सादकन मिया, भारतकी मुना प्रधान, उमेश लामा, अमृता लामा, पाँचथरका पेवाहाङ जगेबु, तेह्रथुमका जितबहादुर लिम्बु र इलामका गोपाल दाहाल घाइते भएका छन् । घाइतेका अवस्था सामान्य छ ।