काठमाडौं । नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तर्गत सुपर सिक्स खेलमा दुबै खेलमा पराजित भएको छ । सुपर सिक्सको दोस्रो खेलमा नेपाल भारतसँग १ सय ३२ रनको फराकिलो अन्तरले पराजित भएको हो । नेपाल सुपर सिक्समा अंक विहीन हुँदै बाहिरिदा भारत अपराजित यात्राका साथ सेमिफाइनलमा पुगेको छ । जितको लागि २९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन मात्र बनाउन सक्यो ।
नेपालका ११ औं नम्बरका खेलाडी दुर्गेश गुप्ता ४३ बलमा २ चौका र १ छक्कासहित २९ रनमा नट आउट रहे । १० औं नम्बरमा आएका आकाश चन्दले ३५ बलमा १८ रन बनाए । अन्तिम विकेटका लागि यी दुई खेलाडीले ६९ बलमा ४५ रनको साझेदारी गरे । नेपालका कप्तान देव खनालले ५३ बलमा २ चौकासहित सर्वाधिक ३३ रन बनाए । अर्जुन कुमालले ६४ बलमा ३ चौकासहित सर्वाधिक २६ रन बनाए । भारतका स्पिनर सौम्य पाण्डेले १० ओभरमा १ मेडनसहित २९ रन खर्चेर ४ विकेट लिए । आर्शिन कुलकर्णीले २ विकेट लिए ।
त्यसअघि दक्षिण अफ्रिकाको माङ्गाउगं ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रन बनाएको थियो । भारतको जितमा सचिन दासले १०१ बलमा ११ चौका र ३ छक्कासहित ११६ रनको शतकीय इनिङ खेले । कप्तान उदय सहारान १०७ बलमा ९ चौकासहित १०० रनमा आउट भएका थिए । नेपालका गुलशन झाले १० ओभरमा ५६ रन खर्चेर ३ विकेट लिए । आकाश चन्दले ९ ओभरमा ६५ रन खर्चेर १ विकेट लिएका थिए । नेपाल समूह डीबाट तेस्रो स्थानमा रहँदै सुपर सिक्स खेलेको थियो ।