काठमाडौं । नेपालमा शनिबारबाट पहिलो चरणको खोप अभियान पुरा भएको छ । यस दौरान फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाईकर्मीले खोप लगाएका छन् । यसबाहेक वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई समेत कोरोना खोप दिइएको छ ।
दोस्रो चरणको अभियान भने सोमबारबाट शुरु हुने भएको छ । सरकारले सोमबारबाट पत्रकार, कूटनीतिक नियोग र संयूक्त राष्ट्रसंघका कर्मचारीलाई कोरोना भाइरसविरुद्धको खोप दिने भएको हो ।
बढी जोखिममा रहेका सार्वजनिक सवारीसाधनका चालक, सहचालक, समुदायमा रहेका वृद्धवृद्धाले भने अर्को खेप खोप आएपछि मात्र लगाउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले भारतबाट आएको खोपको संख्या कम भएका कारण कम संख्यामा प्राथमिकतामा रहेका समुदायलाई कोरोना खोप लगाउन लागिएको हो ।
यसमा करीव १३ हजार पत्रकारले खोप लगाउन सक्ने अनुमान गरिएको छ । पत्रकारले सूचना विभागको कार्डका आधारमा खोप लगाउन सक्ने छन् । पत्रकारले नयाँ बानेश्वरस्थित सिभिल अस्पतालबाट खोप प्राप्त गर्नेछन् । अहिलेसम्म पहिलो चरणमा एक लाख ८४ हजार ८५७ जनाले खोप लगाइसकेका छन्।