काठमाडौं । निर्वाचन आयोगले मंगलबारबाट मतदाता नामावली संकलन बन्द गरेको छ । यससँगै सोमबारसम्म मतदाता नामावलीमा नाम टिपाएका नागरिकले मात्र भोट हाल्न पाउने छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा तोकेको छ । निर्वाचन कार्यतालिका एक–दुई दिनमा सार्वजनिक गर्ने र सोही अनुसार कार्य अगाडि बढाउने तयारीमा आयोग छ । आयोगले आशन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा आवश्यक पर्ने भवन, परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनबारे समेत तयारी थालेको छ ।
सोमबार आयोगका प्रवक्ता पौडेलले विज्ञप्ति जारी गर्दै आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत आवश्यक भवन, सवारी साधन तथा फर्चिरसहितका साधनको स्थानीय तहसँग विवरणका लागि पत्राचार गरेको जानकारी गराएका छन् ।
प्रवक्ता पौडेलका अनुसार मुख्य निर्वाचन अधिकृत–निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि कार्यालय सञ्चालनका लागि सम्बन्धित स्थानीय तहबाटै कम्तीमा एक-एक थान चालु अवस्थाको डेस्कटप कम्प्यूटर, ल्यापटप, स्क्यानर र प्रिन्टर उपलब्ध हुनेगरी व्यवस्थापन गरिदिन सबै स्थानीय तहहरुलाई त्यहाँबाटै पत्राचार हुन समेत अनुरोध गरिएको छ ।
त्यस्तै, स्थानीय तह निर्वाचन, २०७४ मा निर्वाचन आयोगबाट उपलब्ध गराइएका ल्यापटप तथा प्रिन्टरहरुको विवरण समेत खुलाउन आयोगले भनेको छ । आयोगले आफुलाई मात्र १२ अर्ब बजेट चाहिने भनेको छ ।