सोमबार बिहानैबाट वर्षा, तराईमा राहत

काठमाडौं । स्थानीय वायु, पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभावले नेपालमा वर्षा भएको छ । काठमाडौं उपत्यकासहित बागमती र मधेश प्रदेशमा आज वर्षा भएको हो । यसले तराई भेगमा बढ्दो तापमान रोक्न सहयोग पुगेको छ । मानिसहरुलाई राहत पुगेको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली भएको छ ।

बागमती प्रदेश र मधेश प्रदेशका पश्चिमी जिल्लाहरुमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । यो केही समय रोकिने भएको छ । दिउँसो घाम लाग्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।