स्ट्राइकर साडियो माने समेत अब साउदीमा खेल्ने

काठमाडौं । स्ट्राइकर साडियो माने पनि अब साउदीमा खेल्ने भएका छन् । उनी प्रो विग क्लब अल नासरमा अनुबन्धित भएका छन् । अल नासरले मंगलबार मानेलाई अनुबन्ध गर्दै कलबको खेलाडीको रुपमा सार्वजनिक गरेको छ । जर्मन क्लब बायर्न म्युनिख छाड्दै माने साउदी क्लब पुगेका हुन् ।

मानेले अल नासरसँग चार वर्षको लागि सम्झौता गरेको क्लबले जनाएको छ । उनले पाँच पटकको बालोन डे’ओर विजेता क्रिस्टियानो रोनाल्डोसँगै खेल्नेछन् । सेनेगललाई अफ्रिकन कप अफ नेसन्स जिताउँदा माने कप्तान थिए । उनले दुई पटक अफ्रिकी वर्ष खेलाडीको अवार्डसमेत जितेका थिए ।

आर्थिक पक्ष सार्वजनिक नगरिए पनि विभिन्न रिपोर्टहरुका अनुसार साउदी क्लबले मानेका लागि ४० मिलियन युरो तिरेको रोएटर्सले उल्लेख गरेको छ । ३१ वर्षका मानेले बायर्नका लागि ३८ खेलमा १२ गोल गरेका थिए ।

लिभरपुलमा उत्कृष्ट प्रदर्शन गर्दै २६९ खेलमा १२० गोल गरेपछि उनी गत सिजन बायर्न म्युनिख पुगेका थिए । तर त्यहाँ उनको प्रदर्शन सोचे जस्तो हुन सकेन । मानेले अल नासरमा अनुबन्धित भएपछि क्लबको हिस्सा बन्न पाउँदा खुशी लागेको र खेलको लागि धेरै पर्खन नसक्ने बताएका छन् ।