स्थगित भयो मतदाता नामावली संकलन, कति पुगे मतदाता ?

काठमाडौं । निर्वाचनको मिति घोषणा सँगै शुक्रबारबाट मतदाता नामावली संकलनको काम रोकिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार चुनावको घोषणा भएपछि आजबाट मतदाता नामावली सङ्कलनको काम स्थगित भएको हो । अनलाइन फारम भरेर औँठा छाप र फोटो खिच्न बाँकी रहेकाहरूको हकमा २१ गतेसम्म समय निर्धारण गरिएको छ । २०७४ सालमा भएको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावयता २७ लाख मतदाता थपिएका छन्। २०७४ सालको निर्वाचनपछि बिहीबारसम्मको तथ्यांकअनुसार २७ लाख ५४ हजार ३०१ मतदाता थपिएका छन्।

पछिल्लो पाँच वर्षमा झन्डै १८ प्रतिशत मतदाता थपिएका हुन् । २०७४ सालको संघीय र प्रदेश सभा निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ९३८ मतदाता थिए। वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका बेला सार्वजनिक गरिएको अन्तिम नामावलीमा एक करोड ७७ लाख ३३ हजार ७२३ जना थिए। स्थानीय तह निर्वाचनपछि गत असार १ गतेयता फेरि आयोगले मतदाता परिचय पत्र दिन थालेको थियो। वैशाख ३० को स्थानीय निर्वाचनपछि आजसम्म चार लाख ४८ हजार ५१६ मतदाता थपिएका छन् । अब एक करोड ८१ लाख ८२ हजार २३९ मतदाता पुगेका छन्।