स्थानीय तहका उमेदवारको नामावली आज प्रकाशन हुने

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आज पनि मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ता आइतबारदेखि सुरु भएको हो । आइतबार छुटेका दल तथा स्वतन्त्र व्यक्तिहरूले रित पुर्‍याएर आज मनोनयन दर्ता गर्न पाउनेछन् । आज दिउँसोसम्म मनोनयन दर्ताको समय तोकिएको छ । देशभरका ७५३ स्थानीय तहको प्रमुखदेखि वडा सदस्य पदसम्मका लागि दलगत र स्वतन्त्ररुपमा समेत मनोनयनपत्र दर्ता हुनेछ । ७५३ मध्ये ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् ।

यी सबै तहमा प्रमुखरउपप्रमुख तथा अध्यक्षरउपाध्यक्ष र सदस्य पदका लागि मनोनयन हुनेछ । मनोनयन दर्ताको काम सकिएपछि आजै साँझ उम्मेदवारहरूको नामावली प्रकाशन गरिने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ । साना दल र केही स्वतन्त्र उम्मेदवारहरूले आइतबार नै उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार आइतबार १०५३३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तर, ठूला दलहरूमा आन्तरिक किचलो र गठबन्धनमा भागबन्डा नमिलेका कारण पहिलो दिन उम्मेदवारले मनोनयन दर्ता गराएका छैनन् ।