काठमाडौं । स्थानीय तह निर्वाचन–२०७९ का लागि मतदाता नामावलीको अन्तिम सूची आज प्रकाशित हुने भएको छ । निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको सूची प्रकाशन गर्न लागिएको हो । आगामी निर्वाचनमा करिब एक करोड ७७ लाखभन्दा बढी मतदाताले मतदानबता गर्न पाउने बताइएको छ । दाबी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेका छन् । मतदाता नामावली ऐनअनुसार अद्यावधिक मतदाता नामावली प्राप्त भएको मितिले ३५ दिनभित्र पुनरावलोकन गरी प्रकाशन गर्नुपर्ने प्रावधान रहेको छ ।
यसरी अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर, थपघट वा सच्याउन सकिने छैन । फागुन १९ गतेदेखि एक साताको म्याद राखेर मतदाता नामावली अद्यावधिक (दाबी विरोध) गर्न र त्रुटि भए सच्याउन आयोगले आवेदन आह्वान गरेको थियो । नाम दोहोरिएको, मृत्यु भएका वा नागरिकता त्याग गरेका, झुटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए विरोधमा उजुरी दिन आह्वान गरिएकोमा आयोगले वडा, पालिका र निर्वाचन कार्यालयसँगको समन्वयमा मतदाताको अन्तिम नामावली तयार गरेको हो ।