जेनेभा । कोरोनाभाइरसका नयाँनयाँ प्रकार देखिएका छन् । यसले सबैभन्दा पहिले कुन मुलुकमा देखियो भन्ने आधारमा स्थान विशेषको नामबाट उच्चारण गर्ने गरिएको छ । यसमा हुने नामाकरणमा विवाद भएपछि विश्व स्वास्थ्य संगठनले नामाकरण गर्ने नयाँ प्रणालीको घोषणा गरेको छ।
बीबीसीका अनुसार अबदेखि यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरियन्टलाई ग्रीक वर्णमालाका अक्षरको प्रयोग गरेर चिनाइने छ । जहाँ भेरियन्ट पहिले पत्ता लाग्यो त्यही ठाउँबाट चिन्ने गरिएको अहिलेको प्रणालीले स्थानविशेषविरुद्ध विभेदपूर्ण भावना विकसित गराएको भन्दै डब्ल्यूएचओले नयाँ प्रणाली ल्याएको हो।
जसअनुसार आइन्दा यूके भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकी भेरिअन्टलाई बिटा अनि भारतीय भेरिअन्टलाई डेल्टा भनिनेछ।
भारतीय सरकारले त्यहाँ गत अक्टोबरमा सबैभन्दा पहिले यकिन गरिएको भेरियन्टलाई भारतीय भेरियन्ट भनिएकोमा आलोचना गर्दै आएको छ । उसले सामाजिक संजालबाट समेत यस्तो पोष्ट हटाउन भनेको छ । त्यसो त यो नाम डब्ल्यूएचओले दिएको होइन ।
तर, संचारमाध्यमले सोही आधारमा स्थापित गराएका हुन् । विश्व स्वास्थ्य सङ्गठनकी कोभिड १९ प्राविधिक समूहकी प्रमुख मारिया भन कर्खोभले ट्वीट गर्दै भेरियन्ट पत्ता लगाएर जानकारी दिएकोमा कुनै पनि देशलाई अप्ठेरोमा पारिनु नहुने उल्लेख गरेकी छिन् । उनले सङ्क्रमण विस्तार रोक्न भेरियन्टहरूको सक्रियतापूर्वक निगरानी गर्न र वैज्ञानिक डेटा बाँड्न आवश्यक भएको समेत उल्लेख गरेकी छिन् ।
अब प्रयोग गरिने ग्रीक अक्षरहरूले चासोका साथ हेरिएका तथा चिन्ताका साथ हेरिएका दुवै प्रकारका भेरियन्टलाई जनाउने भएको छ । नामहरूको पूर्ण विवरण डब्ल्यूएचओको वेबसाइटबाट समेत सार्वजनिक भएको छ ।