स्पेनका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडीहरु नेपालमा

काठमाडौं । स्पेनका दुई पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडीसहितको टीम नेपाल आइपुगेको छ । स्पेन र नेपालका नागरिक मिलेर चलाएको संस्था लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनको क्याकेरेनो फुटबल क्लबलाई नेपाल भित्र्याएको हो । मंगलबार नेपाल आइपुगेको ५५ जनाको टोली सिधैं पोखरा पुगेको छ । क्लबले गण्डकी–११ सँग बुधबार पोखरा रंगशालामा मैत्रीपूर्ण खेल खेल्दैछ । स्पेनिस महारथी बार्सिलोना र रियल मड्रिडका पूर्व खेलाडी रुबेन डे ला रेड र युलियो सालिनास समेत उक्त टिममा छन् ।

उनीहरुले दुई मैत्रीपूर्ण खेल नेपालमा खेल्ने छन् । बुधबार पोखरामा खेले पछि शुक्रबार काठमाडौं ११ सँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । टिममा स्पेनकै पूर्व राष्ट्रिय खेलाडी मिचेल सहित स्पेनको ‘ए’ डिभिजन क्लबबाट खेलिसकेका खेलाडी समेत छन् । क्रिसमस मनाइसकेपछि नयाँ वर्षभन्दा अगाडिको समय उपयोग गर्ने उद्देश्यसहित स्पेनिस टोलीले नेपाल भ्रमण गरेको हो । क्याकेरेनो टोलीलाई स्पेनस्थित नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले सोमबार बिदाइ गरेकी थिइन् ।

‘शान्तिका लागि फुटबल’ नाराका साथ लुम्बिनी गार्डेन फाउन्डेसनले आयोजना गर्न लागेको दुई मैत्रीपूर्ण खेलका लागि काठमाडौं र गण्डकीका दुवै टोली निर्माण भइसकेको छ । स्पेनिस टिमसँग खेल्ने गण्डकी ११ को टोली नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङको नेतृत्वमा मैदान उत्रिनेछ । गण्डकीको टोली राजेन्द्र तामाङको प्रशिक्षणमा रहनेछ ।

टोलीमा गण्डकी प्रदेशका अन्य राष्ट्रिय खेलाडीहरूको सहभागिता रहनेछ । यसैगरी राष्ट्रिय टिमका अर्का पूर्वकप्तान विराज महर्जनले काठमाडौं ११ को कप्तानी सम्हाल्नेछन् । मेघराज केसीको प्रशिक्षणमा रहने टोलीबाट काठमाडौंमा रहेका अन्य राष्ट्रिय खेलाडीले खेल्ने आयोजकले जनाएको छ ।