स्पेनबाट बिहीबार जहाजमा स्वास्थ्य सामग्री आउने, नेपालमा रहेका नागरिक फर्कने

काठमाडौं । कोरोना भाइरस महामारीसँग जुध्न मित्रराष्ट्र स्पेनले नेपाललाई स्वास्थ्य सामग्री पठाउने भएको छ । बिहीबार एक चार्टर्ड विमान काठमाडौं आउँदैछ । परराष्ट्र मन्त्रालयका अनुसार भेन्टिलेर, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायत स्वास्थ्य सामग्री स्पेनले नेपाल पठाउन लागेको हो ।

बुधबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्पेनका विदेशमन्त्री अराँचा गोन्जलेज लयबीच टेलिफोन वार्ता भएको छ । कुराकानीका अवसरमा ज्ञवालीले गोन्जलेजलाई सहयोगका लागि धन्यवाद दिएका थिए ।

मन्त्रालयका अनुसार टेलिफोन कुराकानीमा दुई देशको समग्र सम्बन्ध र सहकार्यको विषयमा कुराकानी भएको छ । बिहीबार नै उक्त जहाजले नेपालमा रहेका स्पेनिस नागरिकलाई घर लैजाने छ । नेपाल भ्रमणमा आएर यतै रोकिएका स्पेनका नागरिक फर्कने छन् ।