स्पेनमा भिषण बाढी, मृत्यु हुनेको संख्या १५०

newyork times

काठमाडौं । स्पेनमा दशकौँयता आएको भीषण बाढीमा मृत्यु हुनेको सङ्ख्या १५० नाघेको छ। विषम मौषमी अवस्थाबीच उद्धारकर्मीहरू हराइरहेका कैयौँ मानिसहरूको खोजीमा जुटेका छन्। बेपत्ता हुनेहरूको सङ्ख्या अझै प्रस्ट छैन। बिहीवार १,२०० जना उद्धारकर्मीहरू ड्रोन सहित खटिए पनि देशको केही भागमा जारी वर्षाका कारण उनीहरूको काम प्रभावित भएको थियो।

“अहिलेको सबैभन्दा प्रमुख कुरा सकेसम्म धेरै मानिसहरूको ज्यान बचाउने हो,” बाढी प्रभावित क्षेत्रमा पुगेका प्रधानमन्त्री पेड्रो सान्चेजले पीडितहरूसँग भने। ज्यान गुमाउने अधिकांश भ्यालेन्सीया क्षेत्रका छन् जहाँ केही घण्टामै एक वर्षमा पर्ने परिमाणको पानी परेको थियो। उक्त सहरमा मात्रै १५५ जनाको मृत्यु भएको तथ्याङ्क छ।

मङ्गलवारको मुसलधारे वर्षापछि आएको बाढीले बाँध भत्काउनुका साथै पुल र भवनहरू बगाएको थियो भने मानिसहरू ज्यान जोगाउन घरका छत र रूखहरू चढ्न बाध्य भएका थिए। बाढीले ल्याएको माटो, भग्नावशेष र बगाएका कारहरूका कारण सडकहरू पनि अवरुद्ध छन्। धेरै मानिसहरू विद्युत् विना बसिरहेका छन्। सरकारले देशमा तीन दिने शोकको घोषणा गरेको छ। अझै पनि धेरै मानिसहरू हराइरहेकाले यो प्राकृतिक विपद्‌मा परेर ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने पनि सरकारले बताएको छ।


पूर्वी भ्यालेन्सीया प्रान्त र त्यहाँभन्दा बाहिरका ठाउँहरूमा भीषण वर्षाले दशकौँयताको सबैभन्दा खराब विपद् निम्त्याएको हो। सन् १९७३ यता बाढीका कारणले स्पेनमा यति धेरै सङ्ख्यामा मानिसको ज्यान गएको यो पहिलो पटक हो। त्यसबेला देशको दक्षिण पूर्वी क्षेत्रमा गएको अहिलेसम्मकै सर्वाधिक खराब बाढीमा कम्तिमा १५० जनाको मृत्यु भएको थियो।

बुधवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री सान्चेजले नागरिकहरूलाई सावधानी अपनाउन अनुरोध गरे र पूर्ण रूपमा पुनर्स्थापनाको वाचा गरे। उनले भने, “पूरै स्पेन तपाईँहरूसँगै रोइरहेको छ‘ हामी तपाईँहरूलाई यसै छाडिदिने छैनौँ।”

स्पेनको सरकारी मौसम एजेन्सीका अनुसार भ्यालेन्सीया नजिकैको एउटा नगर चीभामा एक वर्ष बराबरको पानी जम्मा ८ घण्टामै परेको थियो। स्पेनको सेना र आपत्तकालीन उद्धारकर्ताहरूले बुधवार बिहान मानिसहरूलाई घर र कारको छतहरूबाट उद्धार गरेको थियो। ज्यान जोगाएका मानिसहरूले मंगलवार रातिको बाढीको आतङ्कको चर्चा गरेका थिए। अकस्मात चोक र सडक नदीमा परिणत भएको थियो। धेरै सवारी चालकहरूले बाढीले त्यस्तो स्वरूप लिने अनुमान नै गर्न सकेका थिएनन्।

भ्यालेन्सीया नजिकैकाका गिलेर्मो सेरानो पेरेजले राजमार्गमा ‘सुनामी’ जस्तै गरी पानी छिरेको बताए। २१ वर्षका उनी र उनका अभिभावक कार छाडेर ज्यान जोगाउन रुखमा चढ्न बाध्य भएका थिए। अर्का प्रत्यक्षदर्शीले मोटरवेमा सवारी चलाइरहेका व्यक्तिहरूले आफूतिर तीव्र गतिमा पानी आइरहेको देखेपछि हाते साङ्लो बनाएर भागेको सम्झना गरे। प्याट्रिसिया रोड्रिगेजले एल पाइस समाचारपत्रलाई भनिन्, “कोही पनि चिप्लिएनन्। किनभने कोही लडेको भए, पानीको वेगले उनीहरूलाई बगाएर लैजान्थ्यो।”

ला टोरेका एकजना बासिन्दाले बीबीसीसँग कुरा गर्दै उनका कतिपय साथीहरूले घर गुमाएको र मंगलवार राति ‘कार पानीमा तैरिरहेको’ र पानीको वेगले ‘पर्खालहरू भत्काएको’ जनाए। भ्यालेन्सीयाबाहिरको एउटा नगर होर्नो डी एलसिडोका मेयरले बीबीसीको न्यूजआवरलाई केही मिनेटभित्रै पानीको तह एक मिटरभन्दा बढीले बढेको बताए। “पानीको वेग ज्यादै तीव्र थियो त्यही भएर हामीले आपत्कालीन सेवाका मानिसहरूलाई बोलायौँ जसले घाँटीसम्म पानीमा डुबिरहेका केही व्यक्तिहरूको उद्धार गरे,” कोनसुएलो टाराजोनले भने।

स्पेनमा धेरै घटनाहरूमा विपद् उद्धारसँग सम्बन्धीत चेतावनी दिइदाँसमेत समयमा नै कदम चाल्न अधिकारीहरू असफल हुने गरेका आरोप लागेका छन्। यसको कारण मानिसहरू सुरक्षित स्थानमा पुग्न नसकेको कुरा यसपटक पनि उठिरहेको छ। विपद्को समयमा परिचालित हुने गरेको नागरिक सुरक्षा एजेन्सीले स्थानीय समय अनुसार २०स्१५ सम्म चेतावनी जारि गरेको थिएन। तर त्यो बेलासम्म चीभा र अन्य कैयौँ शहरहरूमा दुई घण्टा देखि बाढी पसिरहेको थियो।

उद्धारका लागि स्पेनले १ हजार फौज परिचालन गरेको भएपनि सडक, विद्यूत र सञ्चारमा देखिएको अवरोधका कारण धेरै जना प्रभावित रहेका ठाउँसम्म पुग्न विफल भएका थिए। युरोपेली सङ्घकी प्रमुख उर्जुला फोन डेर लाइअनले उद्धारमा सघाउन कोपरनिकस भूउपग्रह प्रणालीलाई सक्रिय तुल्याइएको बताएकी छन्। अरू छिमेकी देशहरूले पनि सहयता पठाउने जनाएका छन्।

स्पेनकी रक्षामन्त्री मार्गरिटा रोब्लेसले बुधवारको बाढी ‘अभूतपूर्व घटना’ रहेको बताएकी छन्। उक्त वर्षा देशको मध्यपूर्वतर्फ सहज देखिएको थियो तर मौसम अधिकारीहरूले वर्षा उत्तरपूर्वको क्याटोलिनातर्फ अघि बढेको जनाएका छन्। मानिसहरूलाई सुरक्षित स्थानमा आश्रय लिन भन्दै मौसमसम्बन्धी चेतावनी पनि दिइएको छ। बाढीका लागि विभिन्न कारणहरू जिम्मेवार हुन्छन्। तर जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा भीषण वर्षाको सम्भवना बढी हुन्छ।


बीबीसीबाट सभार