स्याङ्जामा चक्कु प्रहार गरि १६ महिने बालकको हत्या

काठमाडौं । स्याङ्जामा चक्कु प्रहार गरि १६ महिने बालकको हत्या भएको छ । जिल्लाको वालिङ नगरपालिका १० भकुण्डेमा बुधवार दिउँसो चक्कु प्रहारबाट १६ महिने बालकको ज्यान गएको हो । पर्वतको पैयूँ गाउँपालिका ५ घर भइ वालिङ १० भकुण्डेमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङले बालकलाई चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । उनले वालिङ १२ सिर्सेकोट घर भइ एउटै घरमा डेरा गरी बस्ने रनमाया गुरुङका १६ महिनाका छोरा साइमन गुरुङको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका साइमनलाई गह्रौँ प्राथमिक स्वास्थ्य केन्द्रले मृत घोषणा गरेको थियो । मृतककी दिदी पाँच वर्षीया साइना गुरुङको घाँटीको अगाडिको भाग र बायाँ हातको बूढीऔँलामा चोट लागेको छ । उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ । चक्कु प्रहार गर्ने जितेन्द्रलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको समेत प्रहरीले जानकारी गराएको छ । घटना के कारणले भएको भन्ने खुलेको छैन ।