काठमाडौं । प्रतिनिधि सभातर्फ मतगणना भइरहेका तीन क्षेत्रमध्ये बाजुरा र स्याङ्जामा नेपाली कांग्रेस तथा दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायम राखेका छन् । मतगणनाको पछिल्लो विवरण अनुसार बाजुरामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बद्रि पाण्डेले बनाएका हुन् । उनले ११ हजार ७६ मत ल्याइसकेका छन् । उनलाई एमालेका कर्णबहादुर थापाले आठ हजार ८५२ मतसहित पच्छ्याइरहेका छन् ।
स्याङ्जा–२ मा कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता बढाएका छन् । गुरुङले २२ हजार ४८० मत ल्याउँदा एमालेकी उम्मेदवार पद्मा अर्यालले २० हजार २६७ मतसहित पच्छ्याइरहेकी छिन् । दोलखामा नेकपा (माओवादी केन्द्र) र एमालेका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा छ । माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीले आठ हजार ८४५ मत प्राप्त गर्दा एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीले आठ हजार ४३ मत ल्याएका छन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ यी तीन क्षेत्रको मात्र नतिजा आउन बाँकी छ ।