काठमाडौं । आगामी प्रदेश तथा संघीय निर्वाचनमा स्वतन्त्रबाट उठ्ने तयारी गरेका उम्मेदवारहरु समेत अन्ततः गठबन्धन बनाएर जाने तयारीमा जुटेका छन् । दलको विकल्प दल नै हुने भन्दै उनीहरु आगामी निर्वाचनमा संयुक्त रुपमा निर्वाचनमा जाने तयारी गरेका हुन् ।
शनिबार ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा विशेष भेलाको आयोजना गरी प्रदेश र प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवारहरुको छुट्टै दल गठन गर्ने विषयमा केन्द्रित भएर छलफल सुरु गरेका छन् । आगामी संसदीय चुनावमा दल नै गठन गरेर जानेसम्मको तयारीस्वरुप विशेष भेला आयोजना गरिएको बताइएको छ ।
काठमाडौं महानगरपालिकाको स्वतन्त्रमा मेयरका उम्मेदवार बनेका सुमन सायमीले दल ठिक छैन भन्ने जनतामा भ्रम परेको बताए । उनले त्यस्तो भ्रम हटाउन र संसदमा कानुन निर्माणका लागि वहुमत आवश्यक पर्ने भएकाले एउटा दल गठन गरेर निर्वाचनमा जाने विषयमा देशभरका स्वतन्त्र उम्मेदवारहरुबीच छलफल सुरु गरिएको उल्लेख गरे ।
सायमीले संसदीय चुनाव भनेको नीति निर्माण गर्ने ठाउँ भएको उल्लेख गर्दै त्यहाँ बहुमतको कदर हुने उल्लेख गे । एक व्यक्तिले कानुन बनाउन नसक्ने भन्दै उनले दलको विकल्प दल नै भएको बताए । देशभरका पालिका तह चुनावमा भाग लिएका तथा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेकाहरु सो विशेष भेलामा सहभागी भएका छन ।