काठमाडौं । सरकारले आफ्ना माग वेवास्था गरेको भन्दै स्वास्थ्यकर्मीले माग पुरा गर्न एक साताको समय दिएका छन् । नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिले माग पुरा नभए चरणबद्ध रूपमा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ।
मंसिर ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री समक्ष स्वास्थ्यकर्मी तथा स्वास्थ्य सेवामा क्रियाशील ट्रेड युनियन संघ संगठनहरूले संयुक्तरूपमा १८ बुँदे ज्ञापनपत्र बुझाएका थिए । उक्त दिन समितिले माग पूरा गर्न २१ दिनको समय राखेर अल्टिमेटम तोकेको थियो ।
तर, सरकारले यस अवधिमा समेत माग पुरा गर्न गम्भीर नभएको भन्दै स्वास्थ्यकर्मी थप आन्दोलित हुन लागेका हुन् । समितिले आफ्ना माग पूरा गर्न सोमबारदेखि लागू हुने गरी एक हप्ताको समयावधि थप गरेको छ ।
अब पनि माग पूरा नभए आन्दोलनमा जाने चेतावनी स्वास्थ्यकर्मीको छ । कोरोनाको महामारी फैलिरहेको बेलामा स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूले जोखिम तथा प्रोत्साहन भत्ता अहिलेसम्म पनि नपाएको उनीहरुको भनाई छ ।