काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सम्बन्धि कार्ययोजना प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका छन् । स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लेखित विषयका आधारमा कार्ययोजना तयार पार्न मन्त्री पौडेलले मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटी नेतृत्वको समितिलाई जिम्मेवारी दिएका थिए।
सो समितिले तयार पारेको कार्ययोजनासहितको प्रतिवेदन प्राप्त भएपछि मन्त्री पौडेलले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएका हुन् । कार्ययोजनाका आधारमा मन्त्रिपरिषद् बैठकमार्फत स्वास्थ्य बीमामा सुधार सम्बन्धि निर्णय हुने मन्त्री पौडेलको सचिवालयले जानकारी दिएको छ।
मन्त्री पौडेलले स्वास्थ्य बीमामा सुधार गर्दै बीमा रकम ५ लाख पुर्याउने तयारी गरिरहेको बताएका थिए । प्रतिवेदनमा ५ लाखको लक्ष्यमा पुग्न सकिने विषयवस्तु समावेश गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ। मन्त्रिपरिषदबाट निर्णय भएमा संसदको अधिवेशनमार्फत स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाउने तयारी मन्त्री पौडेलले गरेका छन्।