काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय विशेष समिति बनेको छ । समिति बनेसँगै झण्डै तीन महिना लामो संसदको गतिरोध अन्त्य भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ बनाउने सर्वसम्मत पास गर्यो ।
एमाले सांसद सूर्य थापा सभापति रहेको समितिमा कांग्रेसका बद्री पाण्डे र ईश्वरी न्यौपाने, एमालेकी सरिता भुसाल, माओवादी केन्द्रका लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य छन् । समितिलाई चारबुँदे कार्यादेश र ३ महिना समय दिइएको छ ।
मंगलबार विहान मात्र कानुनमन्त्री पदम गिरी नेतृत्वको कार्यदलले संसदीय विशेष समितिको चारबुँदे कार्यादेश (टीओआर) टुंगो लगाएको थियो । कार्यादेशअनुसार संसदीय समितिले सहकारी संस्थाहरुमा देखिएको संकट, यससँग जोडिएका कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणाालीको नियमन, सुपरीवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरेर सुझाव दिनेछ । त्यस्तै समस्यामा परेका सहकारीको बचत रकम सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको वचत रकम छिटो र सहज ढंगले फिर्ता गर्न सकिने उपायको पनि अध्ययन गरेर सिफारिस गर्नेछ ।
टीओआरमा आरेन्टललगायत सहकारी विभागले समस्याग्रस्त घोषणा गरेका विभिन्न २० सहकारी संस्थामा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीका वचतकर्ताको वचत फिर्ताको प्रक्रिया कहाँ पुगेको छ भन्ने अध्ययन गरी वचत फिर्ताको उपायको सुझाव दिने विषय पनि राखिएको छ । कार्यादेशमा सबैभन्दा बढी विवाद भएको विषय भने चौथो बुँदामा राखिएको छ । यही बुँदामा राखिएको व्यहोराका विषयमा दलहरुबीच लामो छलफल भएको थियो ।
सहकारीको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन गरेको भनी संसद र सार्वजनिक रुपमा प्रश्न उठेका भनी विभिन्न ९ वटा सहकारीको नाम उल्लेख गरिएको छ र ती सहकारीबाट गोर्खा मिडिया नेटवर्क र अन्य कम्पनी तथा संस्थामा प्रपवाह भएको रकमको स्थितिबारे अध्ययन गर्ने विषय यो बुँदामा छ ।
ती सहकारीबाट गैरकानुनी रुपमा रकम लगेको वा नलगेको र गैरकानुनी ढंगले रकम लगेको भए त्यसमा संलग्न व्यक्तिहरुको बारेमा अध्ययन तथा छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरुलाई कारबाहीको लागि सिफारिस गर्ने पनि कार्यादेशमा राखिएको छ ।
यो बुँदामा उल्लेख भएको सहकारीमा पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिम, चितवनको सहारा, वीरगञ्जको सानो पाइला सहकारीको नाम राखिएको छ । त्यस्तै आइडल नमुना, इमेज, समानता र स्वर्णलक्ष्मी सहकारीको नाम पनि राखिएको छ ।