हत्या आरोपमा अघोरी बाबा पक्राउ

काठमाडौं । काठमाडौंको फर्पिङमा एक पुरूषको हत्याको आरोपमा प्रहरीले एक ‘अघोरी’ बाबालाई पक्राउ गरेको छ। हत्या आरोपमा प्रहरीले दक्षिणकाली नगरपालिका ६ फर्पिङस्थित दक्षिणकाली पार्टी प्यालेस अगाडि बस्ने ३५ वर्षीय शिव गिरी (अघोरी)लाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनले बिहीबार साँझ अन्दाजी ४०\४५ वर्षका बोल्न नसक्ने पुरूषमाथि दाउराको चिर्पट र बाँसले टाउकोमा हिर्काएका थिए। प्रहारबाट पुरूष गम्भीर घाइते भएका थिए।

गम्भीर भएका उनलाई प्रहरीले मनमोहन स्मृति सामुदायिक अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि वीर अस्पताल काठमाडौं रिफर गरिएको थियो। उनको शुक्रबार बिहान अस्पतालमा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय फर्पिङले गिरीलाई नियन्त्रणमा लिएको हो । गिरी लामो समयदेखि त्यस क्षेत्रमा बस्थे। अर्का पुरूष पनि त्यही ठाउँमा मागी खाने गर्थे। प्रहरीका अनुसार उनीहरूबीच गाँजाको विषयमा पटक÷पटक झडप हुने गरेको खुलेको छ । बिहीबार पनि उनीहरूबीच झडप हुँदा गिरीले ती पुरूषमाथि चिर्पटले प्रहार गरेका हुन्।