हमासका सैन्य प्रमुख मारिए : इजरायल

काठमाडौं । हमासका शीर्ष नेता इस्माइल हनियेको इरानको राजधानी तेहरानमा हत्या भएको भोलिपल्ट इसराइलले हमासका सैन्य कमान्डर मोहम्मद देइफलाई समेत मारेको दावि गरेको छ । उनको १९ दिनअघि नै हत्या भएको बताइएको छ । इसराइलले जुलाई १३ मा गाजाको खान युनिस सहरबाहिर एउटा पर्खालले घेरिएको भवनमा हवाइ आक्रमण गरेर देइफलाई मारेको दाबी गरेको छ ।

अरू ९० जनाभन्दा धेरैको मृत्यु भएको त्यो आक्रमणमा पछि उसले हमासका अर्का सैन्य कमान्डर रफा सलामाको पनि मृत्यु भएको बताएको छ । बिहीबार उसले खुफिया विश्लेषणका आधारमा सो आक्रमणमा देइफ मारिएको पुष्टि भएको दाबी गरेको छ।

हमास स्रोतले अहिलेको समयमा उनको मृत्यु भएको हो कि होइन भन्न नसकिने जनाएको छ। अलजजिरा टेलिभिजनले हमास स्रोतलाई उल्लेख गर्दै देइफको निधनबारे आधिकारिक पुष्टि हमास वा कसाम ब्रिगेडको नेतृत्वले मात्रै गर्न सक्ने बताएको छ। मंगलबार इरानी राष्ट्रपति मसुद पेजेस्कियानको शपथ ग्रहण समारोहमा उपस्थित भएको केही घण्टापछि हमासको राजनीतिक विभागका ६१ वर्षीय प्रमुख हनियेको हत्या भएको छ । हमासले हनियेको हत्या इसराइलले गरेको आरोप लगाए पनि इसराइलले अहिलेसम्म त्यसको जिम्मेवारी लिएको छैन।

सन् २०२३ अक्टोबर ७ मा हमासले नेपालका दस र अरू केही विदेशीका साथै १२०० इसराइलीको ज्यान जाने गरी इसराइलमा आक्रमण गरेको थियो। त्यसपछि गजामा सैन्य कारबाही सुरू गरेको इसराइलले हमासलाई सिध्याउने घोषणा गरेको हुँदा इसराइलले नै हत्या गरेको मानिएको छ।

इसराइलले लेबननको राजधानी बेरूतमा हिजबुल्लाह समूहका सर्वोच्च सैन्य कमान्डरको हवाइ आक्रमणमा हत्या गरेको केही घण्टामै हनियेको हत्या भएको थियो। इसराइली नियन्त्रणमा रहेको गोलन हाइट्समा जुलाई २७ मा १२ केटाकेटीहरूको ज्यान जाने गरी भएको रकेट हमलाको बदला लिन इसराइलले हिजबुल्लाहका सर्वोच्च सैन्य कमान्डर फुआद शुक्रको हत्या गरेको बताएको छ।

हमासका शीर्ष नेता हनियेको हत्या भएको भोलिपल्टै इसराइलले दोस्रो वरीयताका नेता र सैन्य कमान्डर देइफलाई पनि मारिसकेको दाबी गरेको छ।
देइफ र हनियेको ठाउँमा सन् २०१७ मा हमासको गजा प्रमुख बनेका याह्या सिन्वरले मिलेर हनियेलाई समेत जानकारी नदिई इसराइलमा अक्टोबर ७ मा हमला गर्ने योजना बनाएको मानिन्छ।

Palestinian militant group Hamas’ leader Ismael Haniyeh (C-R) and other officials, flash the victory sign during a swearing in ceremony for the new president, at the parliament in Tehran, on July 30 2024. Iranian reformist Masoud Pezeshkian was sworn as the Islamic republic’s ninth president. (Photo by AFP)

देइफको पनि हत्या भइसकेको हो भने हमासका दुवै शीर्ष नेता मारिएका छन्। त्यस्तै अक्टोबर ७ पछि हमासका शीर्ष ६ जनामध्ये सिन्वरसहित दुई जना मात्रै जीवित रहेको इसराइलको दाबी छ। पाहुनाको नामले चिनिने हमासको अल कसाम ब्रिगेडका प्रमुख देइफ सार्वजनिक रूपमा विरलै देखिने नेता थिए। इसराइली जासुसले नभेट्टाउन् भनेर प्यालेस्टिनी लडाकुहरू आफूप्रति सहानुभूति राख्नेहरूका घरमा फेरी फेरी पाहुना बस्ने प्रचलनका कारण देइफलाई पाहुना भनिएको मानिन्छ।

इसराइलले पटक पटक आक्रमण गरेर मारेको दाबी गरिएका देइफ २० वर्षअघि गरिएको एक हवाइ आक्रमणमा एक हात र एक खुट्टा गुमाएर ह्विलचेयरमा सीमित भएको भनिन्थ्यो। तर पछि उनी सबल रहेको पुष्टि भएको थियो। र उनले नै सिन्वरसँग मिलेर अक्टोबर ७ को हमलाको योजना बनाएको इसराइलले मानेको छ।

सन् १९६५ मा खान युनिस शरणार्थी शिविरमा जन्मिएका देइफको जन्मपछिको नाम मोहम्मद दिएब इब्राहिम अल मास्री भएको मानिन्छ। हमासमा जोडिएपछि उनले नाम परिवर्तन गरेर मोहम्मद देइफ राखेका हुन्। सन् १९८९ मा देइफलाई इसराइलले पक्राउ गरेको थियो। १६ महिनासम्म उनलाई हिरासतमा राखिएको थियो।

युनिभर्सिटी अफ गजाबाट उनले विज्ञानमा स्नाकोत्तर गरेका हुन्। त्यहाँ उनले भौतिक शास्त्र, रसायन शास्त्र र जीव विज्ञान अध्ययन गरेका थिए।
हमासमा प्रभाव बढ्दै गएपछि उनले गजामा टनेलको नेटवर्क र बम बनाउने क्षमताको विज्ञता बढाएका थिए।इसराइलमाथि भएका विभिन्न समयका धेरै आत्मघाती बम बिस्फोट उनले गराएका थिए। दशकौंसम्म उनी इसराइलको मोस्ट वान्टेड सूचीको पहिलो नम्बरमा थिए।

BBC

इसराइलले उनको हत्या गर्न गरेको आक्रमणमा परेका उनले एक आँखा गुमाएका थिए भने एउटा खुट्टामा पनि गम्भीर चोट लागेको थियो। उनकी श्रीमती, ३ वर्षकी छोरी र ७ महिनाका छोराको सन् २०१४ मा इसराइलले गरेको हवाइ आक्रमणमा मृत्यु भएको थियो। हमास स्रोतका अनुसार उनी स्मार्टफोन लगायत पछिल्लो समय प्रचलित प्राविधिक सामान प्रयोग गर्दैन थिए। उनका अहिलेसम्म तीन वटा तस्बिर मात्र सार्वजनिक छन्।

एउटा उनी २०–३० वर्ष हुँदाको हो भने अर्को फोटोमा उनले मास्क लगाएका छन्। यस्तै, तेस्रो फोटोमा उनको छाया मात्र खिचिएको छ। उक्त फोटो उनले सार्वजनिक गर्ने अडिओहरूमा प्रयोग गरिएको हुन्छ। सन् २०२१ मा पनि इसराइलले उनलाई मार्न कारबाही चलाएको थियो। तर उनी बाँच्न सफल भएका थिए। उनले अडिओहरू विरलै सार्वजनिक गर्थे र सार्वजनिक रूपमा देखा नै पर्दैन थिए।