हमासले छाड्यो चार महिला बन्दी

काठमाडौं । युद्धविराम सम्झौताअनुसार हमासले थप चार महिला बन्धक रिहा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरु चारैजना इजरायली सेना सैनिक हुन् । हमासका अनुसार रिहाहरूमा करिना एरिभ, ड्यानिएला गिल्बोआ, लेवी र लिरी अल्बाग छन् । युद्धविराम सम्झौता कार्यान्वयन भएयता हमासले बन्धकहरूलाई मुक्त गरेको यो दोस्रो समूह हो । यसअघि उसले युद्धविराम सम्झौता कार्यान्वयन भएको पहिलो दिन आइतबार तीन इजरायली महिलालाई मुक्त गरेको थियो ।

हमासका बन्दुकधारीहरू र स्थानीय प्यालेस्टाइन नागरिक रिहाइअघि गाजा शहरको प्यालेस्टाइन स्क्वायरमा भेला भएका थिए । त्यसपछि हमासले चारैजनालाई गाडीबाट ओरालेर मञ्चमा पुर्‍याएको थियो । त्यसपछि उनीहरूलाई रेडक्रसको जिम्मा लगाइएको हो । यी चार सैनिकको रिहाइपछि इजरायलले आफूसँग कैदमा रहेका दुई सय प्यालेस्टाइनलाई रिहा गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत ६ साताभित्र हमासले ३३ बन्दी रिहा गरिने जनाएको छ । अबका केही साताभित्र थप २६ बन्धक रिहा हुने अपेक्षा गरिएको छ ।