हमासले तीन दिनमा छाड्यो ४३ बन्धक, नेपालका विपिन अझै अज्ञात

REUTERS\BBC

काठमाडौं । इजरायल र हमासबीचको युद्ध बिरामको तेस्रो दिनसम्म प्यालेस्टाइनी समूह हमासले ५४ बन्धक मुक्त गरेको छ। आइतबार हमासले थप १३ बन्धकलाई मुक्त गरेको छ । शनिबार १७ र शुक्रबार २४ बन्धक छाडिएको थियो । उनीहरुलाई रेडक्रसको जिम्मा लगाएको छ । अक्टोबर ७ देखि हमासले बन्धक बनाएका उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको भनाई छ । गाजाबाट लगिएपछि उनीहरूको स्वास्थ्य परीक्षण गराई आफन्तहरूसँग भेट समेत गराइएको छ।

हमासले बन्धक मुक्त गरेको बदलामा इजराइलले प्रत्येक दिन ३९ जना प्यालेस्टिनियन नागरिकलाई कैदमुक्त गरेको छ। अक्टोबर ७ यता इजराइली डिफेन्स फोर्सले तीन हजारभन्दा बढी प्यालेस्टिनियन नागरिकहरूलाई पक्राउ गरी जेलमा राखेको थियो। उनीहरूमाथि इजराइली सैनिकमाथि आक्रमण र ज्यान मार्ने कोशिस गरेको आरोप लगाइएको छ। इजराइली जेलमा रहेकाहरू अधिकांश महिला र किशोरकिशोरी छन्।


इजराइलले बन्धकमुक्त गर्न भन्दै गाजामा कम्तिमा चार दिन युद्धविराम गर्ने सहमतिलाई गत मंगलबार अनुमोदन गरी शुक्रबारदेखि कार्यान्वयन गरेको हो । हमासले इजराइली जेलमा रहेका तिनै नागरिकहरूलाई रिहा गर्ने सर्त राखेको थियो।

हसमाले पहिलो चरणमा बन्धकमुक्त गरेकाहरू अधिकांश वृद्धवृद्धा, महिला र बालबालिका छन्। बन्धक बनाइएकाहरूमध्ये नेपालका विपिन जोशी पनि छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का २३ वर्षीय विपिन सुदूरपश्चिम विश्वविद्यालयको कृषि तथा विज्ञान संकायमा अध्ययनकै क्रममा अर्न एन्ड लर्न कार्यक्रमअन्तर्गत भदौमा इजराइल गएका हुन् । त्यसमध्ये १० जना हमासको आक्रमणमा मारिएका थिए । विपिनको अवस्था भने अझै अज्ञात छ ।