हराएका हातहतियार असोज भित्र फिर्ता नगरे कारवाही

File (AP Photo/Niranjan Shrestha)

१० असोज, काठमाडौं । गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौँलगायतका मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा यही असोज मसान्तसम्म बुझाउन अनुरोध छ ।

सो मितिभित्र हातहतियार र खरखजान बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने मन्त्रालयले जनाएको छ । सो मितिपश्चात कोहीकसैसँग ती हराएका हातहतियार र खरखजाना फेला परेमा कानुनबमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ । उता, गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगले काम सुरु गरेको छ ।

आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीको सम्बन्धमा आवश्यक राय दिने कार्यादेशसमेत रहेकाले प्रारम्भिक काम सुरु गरेको छ । सरकारले जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम गौरीबहादुर कार्कीको नेतृत्वको जाँचबुझ आयोग गठन गरेको छ ।


आयोगको कार्यक्षेत्रमा रहने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारबाही अगाडि नबढाइने तर गैरकानुनी रूपमा भएका र हुने गतिविधिमा कानुनअनुसार कारबाही हुने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।