हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास

File : A small boat loaded with merchandise sails past the St Kitt's and Nevis-flagged container ship Marsa Victory while crusing in the waters of the Strait of Hormuz off the coast of Khasab in Oman’s northern Musandam peninsula on June 25, 2025. (Photo by Giuseppe CACACE / AFP)

इस्लामावाद, २ असार (रासस–एपी) । संयुक्त राज्य अमेरिका र इरानबीच हर्मुज जलघाँटी पुनः खोल्ने तथा इरान युद्धमा लागू रहेको अस्थिर युद्धविरामलाई थप विस्तार गर्ने उद्देश्यसहित प्रारम्भिक अन्तरिम सम्झौता भएको घोषणा गरिएको छ । यदि यो सम्झौता कार्यान्वयनमा आयो भने विश्व बजारमा तेल र प्राकृतिक ग्यासको आपूर्ति पुनः सहज भई ऊर्जा सङ्कटको जोखिम घट्ने तथा विश्व अर्थतन्त्रमा स्थिरता आउने अपेक्षा गरिएको छ ।

यद्यपि सम्झौताका पूर्ण विवरण तत्काल सार्वजनिक गरिएको छैन । इरानले भने औपचारिक हस्ताक्षर नभएसम्म कुनै पनि प्रावधान कार्यान्वयनमा नल्याइने स्पष्ट पारेको छ । प्रमुख मध्यस्थकर्ताको भूमिका खेलेको पाकिस्तानका अनुसार सम्झौतामा हस्ताक्षर आगामी शुक्रबार स्विट्जरल्यान्डमा हुन सक्नेछ । यो सहमतिले मध्यपूर्वमा हजारौँको ज्यान लिएको युद्ध अन्त्य गर्ने सम्भावित मार्ग खोल्न सक्ने विश्लेषण गरिएको छ ।

तर प्रारम्भिक सहमतिले सुरुदेखि नै अनेक चुनौतीको सामना गरिरहेको छ । विशेषगरी लेबनानमा इरान समर्थित हिजबुल्लाह र इजरायलबीच जारी तनावले वार्तालाई प्रभावित गर्ने जोखिम देखिएको छ । आइतबार इजरायलले बेरुतको दक्षिणी क्षेत्रमा आक्रमण गरेपछि क्षेत्रीय तनाव पुनः बढेको थियो ।

सम्झौताअन्तर्गत सबैभन्दा जटिल विषय इरानको अत्यधिक समृद्ध युरेनियम भण्डार र आणविक कार्यक्रमको भविष्य हो । यी विषयमा समाधान खोज्न पक्षहरूलाई ६० दिनको समय दिइएको छ । सन् २०१५ मा भएको आणविक सम्झौतामा यस्ता विषय टुङ्ग्याउन वर्षौं लागेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा उक्त सम्झौताबाट अमेरिका बाहिरिएको निर्णय गरेपछि तनाव क्रमशः बढ्दै युद्धको अवस्थामा पुगेको थियो ।

ह्वाइट हाउसमा आफ्नो ८०औँ जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्धविराम प्रयासलाई स्वागत गर्दै हर्मुज जलघाँटी खुलाउन तथा अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने आदेश दिएको घोषणा गरेका थिए । तर उनले शुक्रबार औपचारिक हस्ताक्षर नभएसम्म जलघाँटी पूर्ण रूपमा सञ्चालनमा नआउने पनि स्पष्ट पारे ।


इरानका उपविदेशमन्त्री काजेम घारिबाबादीले सरकारी टेलिभिजनमार्फत सम्झौताको पुष्टि गर्दै हस्ताक्षरपछि मात्रै कार्यान्वयन सुरु हुने बताए । उनका अनुसार कतारको मध्यस्थतामा भएको वार्तापछि यो समझदारी सम्भव भएको हो । इजरायलले भने यस विषयमा तत्काल कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । इजरायलले दक्षिणी लेबनानमा आफ्ना सैन्य कारबाही जारी राख्ने विषयमा विशेष जोड दिँदै आएको छ । फेब्रुअरी २८ मा अमेरिका इजरायलसँग मिलेर युद्धमा संलग्न भएको थियो ।

सम्झौताप्रतिको आशावादले अन्तर्राष्ट्रिय बजारमा तत्काल प्रभाव देखिएको छ । बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल चार डलरभन्दा बढीले घटेको छ भने एसियाली शेयर बजारमा उल्लेख्य वृद्धि देखिएको छ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले सबै पक्षले लेबनानसहितका सबै मोर्चामा सैन्य गतिविधि स्थायी रूपमा अन्त्य गर्ने घोषणा गरेको जानकारी दिए । तर इजरायलले यस विषयमा औपचारिक सहमति जनाएको छ वा छैन भन्ने अझै स्पष्ट छैन ।

पाकिस्तानी अधिकारीहरूका अनुसार आगामी ६० दिनभित्र इरानको आणविक कार्यक्रमलगायत बाँकी विवादित विषयमा व्यापक वार्ता हुनेछ । आवश्यक परे समयसीमा थप लम्ब्याउन सकिने पनि जनाइएको छ । इरानी सरकारी सञ्चारमाध्यमले सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयलाई उद्धृत गर्दै युद्ध तत्काल अन्त्य हुने र अमेरिकी नाकाबन्दी पूर्ण रूपमा हटाइने जनाएको छ ।

वार्ताको संवेदनशीलताका कारण नाम नखुलाउने सर्तमा बोल्ने अधिकारीहरूका अनुसार १७ घण्टा लामो छलफलपछि कतारी मध्यस्थकर्ताहरू तेहरानबाट फर्किएका थिए । यस साताभित्र दोहामा पक्षहरूसँग छुट्टाछुट्टै प्राविधिक बैठक हुने तयारी छ । शुक्रबार हुने हस्ताक्षर समारोहमा इरानको प्रतिनिधित्व कसले गर्ने भन्ने अझै तय भएको छैन । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ह्वाइट हाउसले सहभागीहरूको सूची अन्तिम रूप दिइरहेको बताएका छन् ।

उनी स्वयं उपस्थित हुने सम्भावना रहेको र राष्ट्रपति ट्रम्प पनि सहभागी हुन सक्ने सङ्केत दिएका छन् । यसैबीच अमेरिकाभित्रै सम्झौताप्रति शङ्का व्यक्त हुन थालेको छ । रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले इरान र अमेरिकी वार्ता टोलीको व्याख्या फरक देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । न्युयोर्कका सांसद ग्रेगरी मीक्सले पनि इरानसँग हुने कुनै पनि सम्झौताको अमेरिकी कंग्रेसले निगरानी गर्ने बताए ।

युद्धले इरानभित्र राजनीतिक परिवर्तन पनि ल्याएको छ । प्रारम्भिक आक्रमणमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि उनका छोरा आयातोल्लाह मोजताबा खामेनी नयाँ सर्वोच्च नेता बनेका छन् । उनी सार्वजनिक रूपमा नदेखिए पनि सम्झौताका लागि उनको स्वीकृति अनिवार्य मानिएको छ ।

विश्लेषकहरूका अनुसार सम्झौता सफल भए पनि विश्व ऊर्जा आपूर्ति पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन समय लाग्न सक्छ । ढुवानी र बीमा कम्पनीहरूले दीर्घकालीन स्थायित्वको सुनिश्चितता खोजिरहेका छन् । उता इरानसँग अझै पनि ठूलो मात्रामा ब्यालेस्टिक क्षेप्यास्त्र र उच्च समृद्ध युरेनियम रहेको बताइन्छ, जसले भविष्यमा फेरि तनाव बढ्न सक्ने चिन्ता कायम राखेको छ ।

अमेरिकाले सम्झौताअन्तर्गत इरानबाट समृद्ध युरेनियम हटाउन माग गरेको छ । रुसले उक्त सामग्री आफ्नो नियन्त्रणमा लिन प्रस्ताव गरेको भए पनि इरानले आफ्नो युरेनियम भण्डार कायम राख्ने अडान सार्वजनिक रूपमा दोहो¥याउँदै आएको छ । यही विषय आगामी वार्ताको सबैभन्दा कठिन मुद्दा बन्ने अनुमान गरिएको छ ।