हलिउड अभिनेता लियोनार्दोले गरे नेपालको प्रशंसा

काठमाडौं । हलिउड अभिनेता लियोनार्दो डिक्याप्रिओले नेपालले बाघको संख्या दोब्बर बनाउन सफल भएकोमा प्रशंसा गरेका छन् । शनिबार फेसबुकमा स्टाटस लेख्दै उनले नेपालले सन् २०२२ मा बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता पूरा गरेको भन्दै यसलाई अनुकरणीय भएको बताएका हुन् । हालै सार्वजनिक नेपालको बाघ गणनामा ३५५ वटा बाघ रहेको पुष्टि भएको थयो । सन् २०१० मा १२१ वटा रहेको बाघ १२ वर्षमा बढेर ३५५ पुगेको हो ।

अभिनेता डिक्याप्रिओले यसलाई अविश्वसनीय उपलब्धि भनेका छन् । उनले बाघ बढेसँगै मानव बन्यजन्तुबीच द्वन्द्व हुन सक्ने भन्दै सुरक्षित सहअस्तित्वका लागि ध्यान दिन आवश्यक रहेको बताएका छन् । नेपालले बाघ बढेसँगै उत्पन्न चुनौती सम्बोधन गर्न प्रधानमन्त्री मानव–वन्यजन्य उद्धार तथा राहत कोष सुरु गरेकामा पनि उनले खुशी व्यक्त गरेका छन् ।