हाइकु कृति ‘सोली डोली’ क्यालीफोर्नियामा लोकार्पण, साहित्यकार भट्टलाई सम्मान

सान्फ्रान्सिस्को । साहित्यकार सुरेशकुमार भट्टको कृति सोली डोली क्यालिफोर्नियाको सान्फ्रान्सिस्कोमा लोकार्पण गरिएको छ। भट्टले हाइकुमा रचना गरेको यो लोकवेद हालै प्रकाशनमा आएको हो। यो सोली डोलीमा साँढे तीन हजार हाइकु छन्।

लायन्स क्लव अफ बर्कली लाली गुराँस, विकल्प फाउन्डेसन, समुन्द्रपारिका मन र यशोभानु साहित्य संगीत प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकार भट्टले समाजकै विषयवस्तुलाई आफ्नो रचनामा समेटेको बताए। उहाँले कर्खा, उखानटुक्का र गाथामा पनि हाइकु मिल्ने भएकोले यसलाई जापानी शैली मात्रै हो भनेर बुझ्न उपयुक्त नहुने बताए। पाठकलाई विषयवस्तु अनुसारको अध्ययनमा सजिलो होस् भन्ने उद्देश्यले पर्वमा विभक्त गरिएर रचना प्रकाशित समेत उनले जानकारी दिए।

नेपाली साहित्यमा पहिलो पटक शंकर लामिछानेले पारिजातद्वारा लिखित शिरिषको फूलको भूमिका लेख्दा हाइकु प्रयोग स्मरण गर्दै भट्टले आफूलाई लोकसाहित्यमा रुचि भएको र हाईकु पनि लोकसाहित्यसँग मिल्ने भएकोले यसमा सकृयता देखाएको उल्लेख गरे ।

सोली डोली कृतिमाथी टिप्पणी गर्दै युनिभर्सिटी अफ क्यालिफोर्नियाका एशोसियट प्रोफेसर डा टिका लम्सालले हाइकुलाई नेपालको सामाजिक परिवेशमा प्रयोग गरेर समाजका विषयलाई पुस्तकाकार गर्नु कठिन काम भएको बताए। अहिले हामीले रचना पढन सजिलो छ तर ‘यो अरुको विधालाई हाम्रो शैलीमा ढालेर लेख्न पक्कै सजिलो थिएन, जुन काम साहित्यकार भट्टले गरिदिनु भएको छ’, डा लम्सालले भने। पुस्तकलाई विभिन्न पर्वमा विभाजन गरेकोले पाठकलाई छनौटमा सजिलो भएको र यसमा समावेश विषयवस्तु समेत बुझ्न कठिन नभएकोले सोली डोली सबै खालका पाठकका लागि उपयुक्त रहेको पनि उनले बताए।

वर्तमान नेपालको समाज र आप्रवासी नेपालीहरु रहेको अमेरिकाका सहरहरुसम्मका विषयहरु यो पुस्तकका समेटिएको उनको भनाइ थियो ।

कार्यक्रममा साहित्यकार भट्टलाई न्यान्सका अध्यक्ष प्रितेस कार्की, लायन्स क्लव अफ बर्कली लाली गुराँसका राजेन थापा, साहित्यकार रितादेवी प्रधान, विकल्प फाउन्डेसनका अध्यक्ष निर्मल फूयाँल, यशोभानु साहित्य संगीत प्रतिष्ठानका सस्थापक नारायण भट्टराईलगायतले सम्मान गरेका थिए।