हिउँदे वर्षा र हिमपातले कृषकलाई राहत

काठमाडौं । हिउँदे वर्षा र हिमपातका कारण किसानलाई राहत मिलेको छ । काठमाडौंसहित मुलुकका धेरै स्थानमा हल्का वर्षा भएको छ । यसले हिउँदे बालीलाई राहत पुग्छ । माघ दोस्रो हप्तासम्म पनि हिउँ नपरेपछि खडेरी लाग्ने भन्दै किसान चिन्तामा थिए । आज पनि पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने र कतैकतै छिटपुट पानी पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गएराति कोशी र बाग्मतीका उच्च पहाडी क्षेत्रमा छिटपुट वर्षा भएको छ ।

त्यस्तै, काठमाण्डौ उपत्यकामा पनि हल्का वर्षा भएको छ । तर आज काठमाडौंमा दिउँसोपख मौसम बदली भए पनि पानी पर्ने सम्भावना छैन । आज कोशी र गण्डकीका पहाडी क्षेत्रमा फाटफुट वर्षा हुने अनुमान छ । पश्चिमी वायुको प्रभावले हिजो सुुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा मध्यम तथा हल्का वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।

कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, हुम्ला, जुम्ला, डोटी, डडेल्धुरा, बैतडी, बाजुरा, अछाम, सल्यान, रोल्पा, रुकुम, प्यूठान, अर्घाखाँची, गुल्मी, बाग्लुङ, म्याग्दीलगायतका पश्चिमी जिल्लामा पानी परेको हो । पर्सि आइतवारदेखि पानी पार्न सक्ने अर्को प्रणाली भित्रिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।