काठमाडौं । चीनले १८ वैशाखदेखि नेपालसँगका थप दुई व्यापारिक तातोपानी र हिल्सा नाका पनि खुला गर्ने भएको छ । १५ चैत (२९ मार्च) मा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा यस्तो निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । शनिबारदेखि रसुवागढी नाका पूर्ण रुपमा सञ्चालनमा आइसकेको छ ।
तिब्बतसँग जोडिएका नेपाली नाका क्रमैसँग खोल्दै जाने सहमति अनुसार दुवै नाका १८ वैशाखदेखि खुलाउने निर्णय भएको हो । नेपाल चीन दोस्रो ठूलो व्यापारिक नाका तातोपानी सोही दिनबाट व्यापारका लागि दुईतर्फी रुपमा खुला हुने भएको छ । भन्सार कार्यालयका अनुसार चीनले १८ वैशख (१ मे) बाट नाकाको व्यापार दोहोरो सञ्चालन गर्नेगरी तयारी गर्न सूचना पठाएको छ ।