हुक्सेट टाउनको बजेट कमिटीमा गुरुङ, बनिन् सार्वजिनक पदमा चुनिने राज्यकै पहिलो नेपाली

न्यू ह्यामसर

छत्रकुमारी गुरुङ हुक्सेट टाउनको बजेट कमिटी सदस्यमा निर्वाचित भएकी छिन् । न्यू ह्यामसर राज्यमै आम मतदाता मार्फत सार्वजनिक जिम्मेवारीमा चुनिने उनी पहिलो नेपाली अमेरिकन हुन् ।

मंगलबार सम्पन्न निर्वाचनमा गुरुङले सर्वाधिक मत प्राप्त गरिन् । टाउनको बजेट कमिटीमा नौ जना बोर्ड सदस्य रहेका छन् । उनीहरुमध्ये तीन जनाको पदावधि सकिएपछि मंगलबार निर्वाचन भएको थियो ।  साढे पाँच करोड डलर बढि बार्षिक बजेट रहेको हुक्सेट टाउनको सम्पुर्ण आयव्यय तर्जुमा यही कमिटीले गर्छ । गुरुङ आगामी तीन बर्षसम्म यो जिम्मेवारीमा रहनेछिन् । १४ हजार बढि जनसंख्या रहेको हुक्सेट ग्रेटर म्यानचेष्टर एरिया अन्तर्गत पर्छ ।

एक दशक देखि न्यू ह्यामसरमा बसोबास गर्दै आएकी गुरुङ राज्यको सामाजीक गतिविधीमा सुरु देखिनै सकृय छिन् । नेपालमा कानून व्यवसायी रहेकी उनले हाल गुरुङ समाज न्यू ह्यामसरको अध्यक्ष एवं गैर आवासीय नेपाली संघ अमेरिका एनसिसीको बोर्ड अफ डिरेक्टरको रुपमा सामाजीक जिम्मेवारी वहन गरिरहेकी छिन् । नेपालको पहिलो संविधान सभामा विज्ञका रुपमा उनले परामर्श दिएकी थिइन् ।

राज्यमा स्वयंसेवा प्रवर्धनका लागि अग्रणी संस्था ‘भोल्युन्टर एनएच’ले तीन महिना अघि उनलाई सम्मान्नित समेत गरेको थियो ।