काठमाडौं । बाक्लो हुस्सुका कारण देशैभरको जनजिवन प्रभावित बनेको छ । देशका धेरैजसो ठाउँमा हुस्सु कुहिरो लागेकाले यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्ले सुझाव समेत दिएका छन् । केही दिनयता काठमाण्डौसहित पहाडी क्षेत्रमा बिहानपख र तराईका जिल्लामा दिउँसोसम्म हुस्सु कुहिरो लागेको छ । जसका कारण सडक र हवाई यात्रा प्रभावित बनेको छ । हुस्सु कुहिरो लागेका बेला भिजिबिलिटी अर्थात् दृश्य क्षमता घट्ने र यस्तो बेला दुर्घटनाको जोखिम धेरै हुने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका हुन् ।
भिजिबिलिटी कम हुँदा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान अवतरण प्रभावित भएका छन् । यस्तै, अन्य पहाडी र तराईका विमानस्थलबाट पनि उडान अवतरण हुन सकेको छैन । हुस्सुका कारण भिजिबिलिटी झन् झन् घट्दै गइरहेको छ । काठमाडौंमा बिहान दुई हजार मिटर रहेको भिजिबिलिटी ७ बजेपछि १६ सयमा झरेको छ । यसले गर्दा त्रिभुवन विमानस्थलमा उडान अवतरण प्रभावित भएको छ । तराईका जिल्लाको उडान अवतरण हरेक दिनजसो प्रभावित बनेको छ ।